महाकालीमा बहाव बढेपछि सतर्कता अपनाउन आग्रह
खलंगा । भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ । आज बिहानदेखि उक्त बाँधको ढोका खोलेपछि महाकालीमा पानीको बहाव बढेको छ।
महाकालीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले दुवै जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजनाले सफाइ गर्न मङ्गलबार बाँधको ढोका खोल्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीलाई पत्राचार गरेको थियो ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले सूचना जारी गर्दै आज बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म महाकालीमा जलस्तर बढ्न सक्ने भएकाले व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले सो क्षेत्रका बासिन्दालाई सतर्ककता अपनाउन आग्रह गरेका छन्।
यसैगरी बैतडीका प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले पनि महाकालीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन्।
महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका बासिन्दालाई नदी छेउछाउ नजान अनुरोध गरिएको छ। धौलीगङ्गाको बाँधको ढोका खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई नदी छेउछाउमा नजान र सतर्कता अपनाउन आग्रह गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment