लघुकथा : अलमल
साधना भाउजूले एकै प्रसुतीमा चारवटा सन्तान जन्माउनु भएको खबर फैलिएपछि आफ्नो चौचौलाई रोक्न नसकेर बिक्रान्त र म उकालो लाग्यौं।
दलानमा लस्करै सुताइएका शिशुहरू। घामको मधुरो तापमा मस्त निदाएका। मुख सबैको देखिने। कटी तल भने एउटै थाङ्नाले चारैलाई छोपिएको।
हामीलाई मुढामा बस्न संकेत गरेपछि भाउजू मुसुमुसु हाँस्नु भो।
क्रिान्तले भन्यो- “बधाई छ; भाउजू!”
मैले पनि लोली मिलाएँ।
उसले फेरि थप्यो- “कुन छोरा कुन छोरी हो भन्ने छुट्ट्याउन पो गाह्रो भयो- हामीलाई।”
भाउजूले प्रश्नको सहज समाधान दिनु भएन।’ तिमीहरू नै सुल्झाओ’ भने झैं मुसुमुसु हाँसी राख्नु भयो।
कुनैलाई सस्तो र कुनैलाई महँगो कपडा दिएको भए हामीलाई छुट्ट्याउन गाह्रो थिएन। कुनैलाई सताउने र कुनैलाई सहने अभ्यास गराइएको देखिएको भए पनि हामीलाई छुट्ट्याउन सजिलै हुन्थ्यो। कुनैलाई बोर्डिङ र कुनैलाई सार्वजनिक स्कुल पठाएको अवस्था भए पनि छुट्ट्याउन हामी अल्मलिनु पर्ने अवस्था हुँदैनथ्यो। कोही अचार साँध्दै र दुनाटपरी गाँस्दै अनि कोही तास खेल्दै र गफ चट्दै गरेको देख्न पाएको भए पनि छुट्ट्याई हालिन्थ्यो।
यतिखेर लोकतान्त्रिक राज्य स्वयम् महिलालाई परपुरूषसँग हाँसखेल गरे ‘बात लगाउने’ उही पुरानै मानसिकतामा र पुरुषलाई बहुविवाहका लागि स्वीकृति दिने जस्तो मुडमा देखिएको छ; यता हामी शिशुको लिंग छुट्याउन नसकेर अलमलमा छौं।
हामी अलमल्ल परेको देखेपछि भाउजू आफैंले भन्नु भयो- “बाबुहरू अलिक चाँडै आउनु भयो। सासूआमाले नाककान छेडी दिई सकेपछि आउनु भएको भए अलिक सजिलो हुन्थ्यो होला। अहिले अलिक सानै छन्।”
भाउजूले फेरि पनि हाम्रो अलमलको सोझो समाधान दिनु भएन।
No ads found for this position


Facebook Comment