बसाइँसराइ: एक सभ्यताको सामान्य कुरा

सुरेन्द्र पौडेल
२९ साउन २०८२ २०:५२
788
Shares

मेरी छोरी, तिमी  सपनाकाे देशमा उच्च शिक्षाको लागि विद्यार्थी भिसामा तयारी गर्दै गर्दा, मेरो मनमा खुशी र गर्व त छँदैछ, तर एउटा धेरै डर पनि छ। मैले सुनेको छु कि अमेरिकामा पढ्न गएका ९५ प्रतिशत विद्यार्थी कहिल्यै फर्कँदैनन्।

मलाई डर लाग्छ कतै तिमी पनि त्यही ९५ प्रतिशतको हिस्सा बन्ने त होइनौ? यो कथा मैले तिमीलाई हाम्रो परिवारको इतिहास र हाम्रो देशको वर्तमान बुझाउनका लागि लेखेको हुँ।

बसाइँसराइ कुनै एक सरकारको असफलता, कुनै ‘system error’, वा राष्ट्रको गरिबीको मात्र परिणाम होइन। यो त मानव सभ्यताको आधारभूत पाटो हो जसरी नदीहरू बग्छन्, बोटबिरुवाहरू बिउबाट टाढा उम्रन्छन् र चराहरूले मौसमअनुसार स्थल बदल्छन्।

आज तिमी विदेश पुगेर मास्टर्स पढ्दै छौ, र यो यात्राको अन्तिम गन्तव्य होइन, नयाँ सम्भावनाहरूको सुरुवात हो। तिमी यो अवस्थामा पुग्दा मैले बिताएको २५ वर्षको संघर्ष सम्झिन्छु, त्यो संघर्ष केवल मेरो जीवनको लागि थिएन, बरु तिम्रो पुस्ताले खुला आकाशमा आफ्नो सपना पूरा गर्न पाओस् भन्ने चाहनाको लागि थियो।

जब म तिम्री आमासँग विवाह गरेँ, मसँग न गाडी थियो, न मोटरसाइकल, न घर। मसँग थियो भने एक पेशागत उपाधि, राम्रो नाम र अथक परिश्रम गर्ने बानी। कलेजमा पढाउँथेँ, कोचिङ क्लास चलाउँथेँ, अनि आफ्नो अडिट फर्म पनि चलाउँथेँ। आम्दानी राम्रै थियो, तर समय भने सधैं काममै बित्थ्यो। तिम्रो जन्मभन्दा अघि हामीले प्रायः कुनै छुट्टी नै लिएनौं।

तिमी जन्मेपछि, जीवनको प्राथमिकता बदलियो। भिडिएको सार्वजनिक बसमा तिमीलाई बोकेर यात्रा गर्दा मैले महसुस गरें, अब समय आएको छ, परिवारको स्थायित्वका लागि ठोस आधार बनाउने। त्यसैले केही महिनामै मैले स्यान्ट्रो कार किनें, ड्राइभर राखें, अनि हाम्रो आफ्नै घर बनाउने निर्णय लिएँ।

त्यही घरबाट तिमीले भारतमा ब्याचलर पढ्न यात्रा सुरु गर्‍याै र आज अमेरिका पुगेकी छौ। यो केवल तिम्रो उपलब्धि मात्र होइन, हाम्रो परिवारको संयुक्त सपना हो।

करिब सय वर्षअघि गाउँमा हल्ला चल्थ्यो आसाम, मलाया र लाहुरमा धेरै जमिन सजिलै पाइन्छ, चाँडै धनी बन्न सकिन्छ, पैसाको रुख फल्छ, खानीको सम्पत्ति असीमित छ। यही सपना बोकेर हाम्रा पुर्खा टाढा-टाढा पुगे। अवश्य नै, भगवानको कृपाले अहिलेको अवस्था त्यतिबेलाको भन्दा फरक हुनेछ।

छोरी, याद राख तिम्रो पढाइ, अनुभव र सीप संसारका जुनसुकै कुनामा पुगुन्, त्यो जरा यतैको माटोमा गाडिएको छ। मैले गरेको २५ वर्षको संघर्षको सबैभन्दा ठूलो फल तिमीलाई आफ्नै खुट्टामा उभिएर सपना पूरा गर्न देख्नु हो।

बसाइँसराइ देशको रिपोर्ट कार्ड: नकारात्मक सोच

बसाइँसराइ मानव सभ्यताको सामान्य पक्ष हो, तर यसको स्वरूप समयसँगै बदलिएको छ। आज यसको महत्त्व केवल व्यक्तिगत यात्रामा सीमित छैन, बरु यो विश्वव्यापी प्रतिस्पर्धा र अवसरको खोजीको हिस्सा बनेको छ। हाम्रो पुर्खाहरू विगतमा भोकमरी वा विपत्तिबाट बच्न हिँड्थे, तर अहिले बसाइँसराइ दुई मुख्य रूपमा हुन्छ-

पहिलो, उच्च शिक्षा प्राप्त गर्नको लागि हुने यात्रा, जहाँ विद्यार्थीहरू अन्तर्राष्ट्रिय स्तरको ज्ञान र सीप पाउन विदेश जान्छन् र दोस्रो, रोजगारी तथा पेशागत अनुभवको लागि हुने पलायन, जहाँ मानिसहरू आफ्नो सीपलाई वैश्विक बजारमा प्रयोग गर्न बाहिरिन्छन्।

यो परिवर्तन केवल आन्तरिक कारणले होइन, बरु विश्वव्यापीकरण र बाह्य वातावरणले बनाएको हो। आजका धनी राष्ट्रहरूले कुशल जनशक्तिलाई भिसा, छात्रवृत्ति र आकर्षक अवसर दिएर तानिरहेका छन्।

यसरी, देशभित्रै शिक्षा र रोजगारीको विकल्प हुँदाहुँदै पनि, अन्तर्राष्ट्रिय स्तरमा हुने प्रतिस्पर्धा, प्रविधिको विकास र खुला बजार प्रणालीले विदेश जाने निर्णयलाई अझ सहज र आकर्षक बनाइदिएको छ।

नेपालको सन्दर्भमा पनि, यो प्रवृत्ति आकस्मिक होइन। २०४६ सालको लोकतन्त्र आउनु अघि विदेश जानमा कडा प्रतिबन्ध थियो, तर लोकतन्त्रपछि सीमाना खुल्दा र अन्तर्राष्ट्रिय सम्पर्क बढ्दा, नयाँ पुस्ताले बाहिरको संसारलाई अवसरको भूमि रूपमा हेर्न थाले।

तपाईंको छोरीजस्तै धेरै युवाहरू आज आफ्नो भविष्यको सम्भावना विश्व बजारमा देख्छन्, यो व्यक्तिगत आकांक्षा मात्र होइन, बरु संसारको आपसी सम्बन्ध र अवसरको आदान-प्रदानको प्रतिफल हो।

अभाव र बाँच्न: कामका लागि संघर्ष

आजभन्दा १३०-१५० वर्षअघिको नेपालको अवस्था धेरै फरक थियो। मेरा बुबाका हजुरबुबालाई १९५५-१९६० बिक्रम संवततिर बाँच्नको लागि कामका लागि आफ्नो थातथलो  पूर्वी पहाड गाउँ छोडेर पूर्वी पहाड कै अर्काे एक दुर्गम गाउँमा जानुपरेको थियो।

त्यो समय पेट पाल्न, खेत जोत्न, मकै र कोदो उब्जाउन, र असीमित परिवार धान्न बसाइँसराइ सामान्य कुरा थियो। कुनै सरकारी रोजगारी वा सुरक्षा थिएन, न कुनै योजना, यो शुद्ध बाँच्नको लागि कामको लागि गरिएको संघर्ष थियो।

यही अवस्थाका कारण मेरा बुबा १९८७ बिक्रम संवतमा पूर्वी पहाडकाे सोही दुर्गम गाउँमा जन्मनुभयो। उहाँले त्यहीँ शिक्षकको जागिर पाउनुभयो, जसले गर्दा उहाँले आसाम, भारत जानुपरेन।

यदि उहाँले शिक्षकको जागिर नपाउनुभएको भए, सायद उहाँ पनि आसाम जानुहुन्थ्यो र हाम्रो परिवारको कथा अर्कै हुन्थ्यो। तर पछि, २०२३ बिक्रम संवतमा मेरा हजुरबुबासँगै कोशी नदी किनारको गाउँमा बसाइँ सर्नु भयो। कारण फेरि उही बढ्दै जाने परिवारलाई भोकमरीबाट जोगाउन।

पहिलो-पाँचौं पुस्ता: बसाइँसराइको कथा

यो कथा वास्तवमा १९५५-६० बिक्रम संवतमा पूर्वी पहाड भएको बसाइँसराइपछि सुरु हुन्छ करिब १२०-१२५ वर्ष अघिदेखि। मेरो बुबा अहिले ९५ वर्ष नाघिसक्नुभएको छ, र उहाँ हाम्रो परिवारको १५० वर्षको जीवित इतिहास हो। यदि कसैले हजुरबुबासँग भेट गर्ने अवसर पायो भने, उहाँले सजिलै ८०-१०० वर्षको पारिवारिक इतिहास सुनाउन सक्नुहुन्छ।

मेरो बुबा सोलुखुम्बुबाट सुनसरी, कोशी नदी किनारमा सर्नुभयो। मेरो हजुरबुबा डेम्रितार, ओखलढुंगाबाट सोलुखुम्बु पुगेका थिए। मेरा ठूला हजुरबुबाको परिवारले १९९०-२००० बिक्रम संवतको बीचमा सोलुखुम्बु छोडेर भोजपुरको एक दुर्गम गाउँ र पछि भारतको आसाममा यात्रा गर्नुभयो।

त्यतिबेला आसाम ब्रिटिश शासनमा थियो, आजको जस्तो खाडी मुलुक वा युरोपमा काम गर्न जाने अवसर जस्तै। धेरैले पैसा कमाए, जग्गा किने, गोरु पाले, यी सम्पत्तिका प्रतीक थिए। त्यहाँबाट उनीहरूको सन्तानहरू आसामका विभिन्न भाग, हरिद्वार, दिल्ली, बैंगलोरमा फैलिएका छन्।

ठूला हजुरबुबाको परिवारका सदस्यहरू जो हाम्रो आफ्नै नजिकका परिवार हुन् नेपाल फर्केनन्। यो देशप्रेमको कमीका कारण होइन, बरु त्यो समय नेपाल फर्कन सहज थिएन।

यातायातको अभाव, बाटामा वन्यजन्तुको खतरा र नेपाल फर्केर फेरि सुरुबाट संघर्ष गर्नुपर्ने डरले धेरैलाई त्यहाँ नै बस्न बाध्य बनायो। त्यतिबेला भारतमा उनीहरूले बनाएको व्यापार, खेती, घर त्यागेर अनिश्चिततामा फर्कन सजिलो थिएन। उनीहरू अन्ततः भारतमै बस्न पुगे।

आज ठूला हजुरबुबाको परिवारका सन्तानहरू आसाम, दिल्ली, हरिद्वार, बैंगलोरमा बसोबास गर्छन्। पहिलो पुस्ता नेपालमा जन्मिएका थिए, चौथो पुस्ता आज भारतका बासिन्दा भएर गर्वका साथ ‘भारत माता की जय’ भन्छन् जस्तै हामी ‘जय नेपाल’ भन्छौं।

हाम्रो परिवारको कुनै पनि पुस्ता जन्मेदेखि मृत्युसम्म एउटै ठाउँमा बस्दैन। बसाइँसराइ हाम्रो जीवनको स्वाभाविक अंश हो। पाँचौं पुस्ताका छोराछोरीहरू अमेरिका, क्यानडा, अष्ट्रेलिया, पोर्चुगल, डेनमार्क, युके र अन्य देशहरूमा छन्। बसाइँसराइ हाम्रो रगतमा धेरै गरी बसेको छ र यो हाम्रो परिवारको मात्र होइन, मानव अस्तित्वको स्वाभाविक यात्रा हो।

पाँचौं पुस्ता : अझ ठूलो सपना

मेरो छोरी अमेरिकामा आफ्नो मार्ग बनाउँदैछिन् र उनी पनि यो लम्बिएको कथाको अर्को भाग बन्नेछिन्। तिमी अहिले आफ्नो घर, कार, र बौद्धिक सम्पत्तिको रूपमा वित्तीय परामर्शको आफ्नै काम गर्ने क्षेत्रको मालिक छौ। मसँग छोरा छैन र तिमी मेरो एउटै छोरी हौ।

तिम्रो हजुरबुबाले तिम्रो लागि पर्याप्त सम्पत्ति अलग राख्नुभएको छ। उहाँ चाहनुहुन्न कि तिमी विदेश जाओ। उहाँको मनमा यो विचार छ कि यहाँ तिमीलाई सबै सुविधा र आधारभूत आवश्यकता मिल्नेछ, तिमीको भविष्य सुरक्षित छ र विदेश गएर अनिश्चितताको जोखिम लिनु आवश्यक छैन।

तर पनि तिमीले आफ्नो पाइला रोकेकी छैनाै। तिम्रो आँखा नयाँ क्षितिजमा टाँसिएको छ, र तिम्रो मनमा अझ ठूलो सपना बोकेर अगाडि बढ्ने चाहना छ।

सम्पन्नता केवल स्थानमा होइन, मानिसको सोच, मेहनत र दृष्टिकोणमा निर्भर हुन्छ। त्यसैले, समाज र नकारात्मक सोच भएका मानिसहरूलाई यो सन्देश देऊ देश छोड्ने कारणको दोष सरकार वा परिवारलाई नलागाउ, अन्ततः त्यो निर्णय तिमी आफैंको हो।

हजुरबुबाले सोध्नुभएको छ ‘हाम्रो देशमै बसेर पनि तिमीले ज्ञान, सम्मान, र सफलता कमाउन सक्दैनौ र?’ उहाँको अनुभवले देखाएको छ कि परदेशको माटोमा काम गर्नु सजिलो छैन, त्यहाँको जीवनशैली र संस्कार फरक हुन्छ, र धेरैले विदेशमा गई आफ्ना सपना त्याग्नुपरेको छ।

तर तिमीलाई लाग्छ बसाइँसराइ केवल एउटा भौगोलिक यात्रा मात्र होइन, यो त आफ्नो क्षमता परख्ने र विश्वव्यापी प्रतिस्पर्धामा उभिने अवसर हो। उहाँको माया र चिन्ताले तिमीलाई रोक्न खोजे पनि, तिम्रो आत्मबल र लक्ष्यले तिमीलाई अघि बढाइरहेको छ।

करिब सय वर्षअघि गाउँमा हल्ला चल्थ्यो आसाम, मलाया र लाहुरमा धेरै जमिन सजिलै पाइन्छ, चाँडै धनी बन्न सकिन्छ, पैसाको रुख फल्छ, खानीको सम्पत्ति असीमित छ। यही सपना बोकेर हाम्रा पुर्खा टाढा-टाढा पुगे।

तर आज तिमी काठमाडौंको दोस्रो पुस्ता हौ, सुनसरीको चौथो पुस्ता हौ र तिमीले मध्यम वर्गीय परिवारका लागि आवश्यक सबै कुरा पाएका छौ। यसले देखाउँछ, बसाइँसराइ मात्रले धनी र सम्पन्न बनाउँछ भन्ने कुरा साँचो होइन।

सम्पन्नता केवल स्थानमा होइन, मानिसको सोच, मेहनत र दृष्टिकोणमा निर्भर हुन्छ। त्यसैले, समाज र नकारात्मक सोच भएका मानिसहरूलाई यो सन्देश देऊ देश छोड्ने कारणको दोष सरकार वा परिवारलाई नलागाउ, अन्ततः त्यो निर्णय तिमी आफैंको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *