कविता : अकविताको जुलुस

प्रकाशचन्द्र खतिवडा
२१ भदौ २०८२ ७:०८
32
Shares
भावविहीन
कलात्मकता शून्य
अमिल्दो शैली
भद्दा प्रस्तुति
यीनै आरोप लाग्छन
म र मेरो कविता माथि।
म आरोप स्वीकार्न तयार छैन
म पढि रहेछु कविहरुका कविता
 म पढिरहेछु मेरो पनि कविता
कविताका अनेक अर्थ लाग्छन्
दासहरु कविता होइन
भजन लेख्छन्
म भजन लेख्दिनँ
बरु नारा लेख्छु
नाराहरु मिलाएरै सिंगो कविता बन्छ
दासहरु त्यसलाई अकविता भन्छन्।
क्रान्तिका चेतविहीन कविताहरु
मुक्तिका गीतविहीन कविताहरु
जीवनका जिजीविषा विहीन कविताहरु
किन लेखिन्छन् यति विघ्न?
तिनै कविता पुरस्कृत गरी
गद्दारहरु तक्मा बाँडछन्
दासहरु तक्मा थापेर
सलामी ग्रहण गर्दै
आफूलाई अब्बल कवि ठान्छन्
तिनीहरुलाई के थाहा?
कविता भित्रको कविता।
मृत्यु जित्न नसकेर मान्छेहरु रोइरहेछन् निरन्तर
जीवन मरिरहेको वियोगान्त कथा सुनाउन नपाएर
मान्छेहरु भौतारी रहेछन् निरन्तर
समय क्रुद्ध बनेको छ
तक्मा दिने र लिनेहरुको
अप्राकृतिक साँठ गाँठ प्रति
कवि पनि टोलाइ रहेछ यसै बेला
समयले नराम्ररी चुटे पछि ।
म युद्ध आहवान गर्छु कविताहरुको
तिमी कविता लेख्छौ
म अकविता लेख्छु
तिम्रो मेरो जीवन यात्रा भिन्न छ
तिमी आलिशान महलको कथा लेख्छौ
म झुपडीको कथा लेख्छु
तिमी राजा महाराजाको प्रशश्ती गाउँछौ
म भुइँ मान्छेको गीत गाउँछु
सिद्धान्त ः तिम्रो मेरो कित्ता काट भएकै छ ।
फेरि पनि तिम्रो त्यही कुतर्क
प्रतिशोधको आँखाले हेरे पछि
कविता अकविता देखिन्छन्
तिम्रो भजनको शक्ति क्षीण भै सकेको छ
तिम्रो कविता भर्सेलीमा राखेर सुकाउ
धुवाँले कालो हुने गरी
इतिहासको थैलोमा पोको पारी सुरक्षित राख
पुस्तान्तरण गर्नलाई
एक्काइशौ  शताब्दीको मृत कविता तिम्रै हो
अब खोशिने छन तिम्रा तक्माहरु
तिम्रा दम्भ र रवाफहरु
म अकविताको जुलुस लिएर आउँदैछु
तिम्रा सामु चुनौति पेश्दै
तिम्रा कविताको साम्राज्य तोड्न।
सुन्दरहरैंचा-६, दुलारी, मोरङ

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *