विपिन जोशीबारे भ्रामक समाचार सम्प्रेषण नगर्न अपिल

डिसी नेपाल
२२ असोज २०८२ २२:२३
396
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समुदायले हमासको नियन्त्रणमा रहेका भनियका विपिन जोशीबारे भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ।

परवासमा रहेर नेपाली पत्रकारितामा सक्रिय इजरायलस्थित सञ्चारकर्मी खेमराज जमरकट्टेल र अमेरिकास्थित सञ्चारकर्मी कविद्र सिटौलाले संयुक्त विज्ञप्ति जारी गर्दै विपिनबारे भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरेका हुन्।

‘हामी सबैलाई विदित छ, नेपाली युवा विपिन जोशी लामो समयदेखि हमासको नियन्त्रणमा रहेका बन्धकहरूमध्ये एक हुन्। यस संवेदनशील घडीमा विपिन जोशीको परिवार गहिरो पीडा र आशाको दोहोरो यात्रामा छ। एक बुबा अझै पनि आफ्नो हराएका छोरोलाई भेट्ने आशामा छन्, एक आमा आफ्नो अपहृत सन्तानलाई सुरक्षित घर फर्काउने प्रयत्नमा संसारभर पुगिरहेकी छिन्। एक बहिनी दाजुको स्वतन्त्रताको आवाज बनेर निरन्तर बोलिरहेकी छिन्,’ जारी विज्ञप्तिमा भनिएको छ।

यस्तो अवस्थामा सानो सकारात्मक समाचारले परिवारमा आशाको ज्योति जगाउने र असत्य वा अपुष्ट समाचारले उनीहरूलाई थप मानसिक पीडा पुर्‍याउनेतर्फ सचेत रहन विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

‘हाल केही अन्तर्राष्ट्रिय मिडियामा विपिन जोशीसम्बन्धी भ्रमपूर्ण जानकारीहरू प्रकाशित भएपछि स्पष्ट पार्न चाहन्छौं कि- परिवारले आज सार्वजनिक गर्न लागेको सामग्री विपिन जोशी अपहरण भएको करिब २२ महिना अगाडि इजरायली सुरक्षाबाट प्राप्त गरिएको भिडियो र तस्बिर हुन्, जसमा विपिन जोशी अपहरित पछिको गरिएको छ। यो सामग्री आज साँझ इजरायलस्थित मिडियामा मात्र पुनःप्रकाशन हुँदैछ। कुनै नयाँ घटनाक्रम वा रिहाइको आधिकारिक पुष्टि भने भएको छैन,’ विज्ञप्तिमा भनिएको छ।

उनीहरूले सम्पूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडिया तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूसँग सत्यापन नगरी कुनै पनि समाचार वा पोस्ट सार्वजनिक नगर्न आग्रहसमेत गरेका छन्।

विपिन जोशी सम्बन्धी कुनै पनि समाचार परिवारका आधिकारिक प्रतिनिधि वा इजरायलस्थित नेपाली दूतावासमार्फत मात्र पुष्टि भएपछि प्रकाशित वा प्रसारण गर्न उनीहरूको अनुरो छ।

‘हामी सबै नेपालीको साझा भावना विपिन जोशी सकुशल नेपाल फर्कुन् भन्ने हो। त्यसका लागि विश्वभरबाट उठिरहेको प्रत्येक प्रार्थना र आवाजलाई निरन्तर राख्न पनि हामी सबैसँग आग्रह गर्दछौं। सहयोग र सद्भावका लागि सम्पूर्ण मिडियाकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्ता र विश्वभरका नेपाली समुदायलाई हार्दिक धन्यवाद,’ विज्ञप्तिमा भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *