जेन-जी विद्रोह र नयाँ नेपालको मार्गचित्र
नेपाल फेरि एक ऐतिहासिक मोडमा उभिएको छ-जहाँ पुराना संरचना र नयाँ पुस्ताको आकांक्षा आमनेसामने छन्। अहंकार, भ्रष्टाचार र बेइमानीले ग्रस्त पुरातन नेतृत्वले जनविश्वास गुमाउँदा, नयाँ पुस्ता अर्थात् जेन-जी ले विद्रोहमार्फत नयाँ सम्भावनाको ढोका खोलेको छ।
उनीहरूले सडकमा ल्याएको आवाज केवल असन्तोषको चिच्याहट होइन, यो भविष्यको खाका हो-जहाँ उत्तरदायित्व, पारदर्शिता र प्रत्यक्ष जनसहभागिताले शासनको स्वरूप परिभाषित गर्नेछ।
तर, प्रत्येक विद्रोहसँगै एक जोखिम पनि आउँछ-“अराजकतामा रूपान्तरण।” इतिहास साक्षी छ, यस्ता असाधारण क्षणहरू आएका छन्, स्वार्थ शक्तिहरूले त्यसलाई आफ्ना उद्देश्यकालागि प्रयोग गर्ने प्रयास गरेका छन्। आजको चुनौती त्यसैमा छ-जेन-जीको आदर्श आन्दोलनलाई ‘सत्ता कब्जा अभियान’ बनाउने खेल रोक्न सक्नुपर्छ।
जेन-जी आन्दोलनले हालको राजनीतिक अवस्थालाई झन् संघर्षपूर्ण, सनसनिपूर्ण, आशंका अनि अन्योलको भुमरीमा पारिदिएको छ, प्रश्नै-प्रश्नको घेराउमा। सडकमा उठेको यूवा-आवाज, डिजिटल माध्यममा फैलिएको व्यंग्य-आक्रोश, र प्रत्यक्ष क्रियाकलापले नेपालकै राजनीतिक ढाँचालाई हल्लायो।
जेन-जी आन्दोलनले राजनीतिलाई इतिहासको सोचनीय र गम्भीर मोड ल्याएको छ। आन्दोलन मात्र आक्रोश होइन, यसले नीति, कानुन र संस्थालाई परिवर्तन गर्ने उत्तरदायी रोडम्याप प्रस्तुत गर्नुपर्छ। यदि यो अवसरलाई संस्थागत रूप दिन सक्यौं भने नेपाल नयाँ पुस्तादेखि स्थायित्व र समृद्धितर्फ लाग्न सक्छ।
अन्यथा, इतिहासले सिकाएको छ-जुन आन्दोलनले स्पष्ट योजना, नेतृत्व र जवाफदेहिता देखाउन सक्दैन, अनि गिरिजा प्रसाद वा प्रचण्डको जस्तो खल्लो, गन्तब्यहीन, दिशाहिन, गतिहिन देश बन्छ अनि राजनिती लक्ष्यविहीन। गिरिजाप्रसाद र प्रचण्डलाई जस्तै जनाताले पत्याएकाछन, यो आन्दोलन।
नेपालको यात्रा अहिले “अवसर र चुनौतीको संगम” मा छ। स्थिर सरकार, सुदृढ अर्थतन्त्र, प्रत्यक्ष कार्यकारी र भ्रष्टाचारमुक्त प्रणाली अब जनताको एकमात्र माग हो। जेन-जीले यो पुस्तालाई निरन्तर निगरानी, आलोचनात्मक समर्थन र रचनात्मक प्रतिरोधको माध्यमबाट लोकतन्त्रको सुदृढीकरण गर्नुपर्छ।
डेलिभरी र गन्तब्य निश्चित भएन भने भोलि फेरि लखेटिने दिन गनेर बस्न तयार हुनुपर्दछ। फरक अनुभूति दिन नसके अन्तमा परम्परागत शक्तिहरूले खाइदिन्छन्।यो सत्य भुलेर आपस मै विवादित हुने अनि सह्भागी सबै नेता हुन खोज्ने हो भने सुरक्षित स्थान खोज्न ढिला नगर्द उत्तम हुन्छ।
नेपालको राजनीतिक इतिहासमा पहिलो पटक युवापुस्ताले स्वस्फूर्त रूपमा देशको नेतृत्वविहीनताविरुद्ध आवाज उठायो। यो आन्दोलन कुनै दलको निर्देशनमा होइन, नागरिक चेतनाको विस्फोटको रूपमा देखा परेको थियो।
जेन-जी आन्दोलनले पुराना शक्तिहरूको स्थायित्वलाई चुनौती दियो, सत्ताको अहंकारलाई हल्लायो र भ्रष्टाचारविरुद्धको आक्रोशलाई राष्ट्रिय बहसको केन्द्र बनायो। तर, सत्ताको गल्छेडी फाल्न सफल भएको यो शक्ति अहिले मौन देखिनु, वा गन्तब्यहीन कुहिरोको काग जस्तो देखिनु स्वयंमा चिन्ताको विषय हो।
तर अब मुख्य प्रश्न यही हो-आन्दोलनको आक्रोशलाई संस्थागत ढाँचामा परिवर्तन गरेर देशका संरचना, नीति र व्यवहारमा के-के परिवर्तन ल्याउने? र, विशेष गरी ती गम्भीर प्रश्नहरू- आन्दोलन किन अहिले सत्ताबाट मौन छ? प्रहरी र सुरक्षा निकायमाथिको अमानवीय व्यवहार किन चाँडो एक्स्पोज भएन?
अदालत जलाउने जस्ता अपराधीहरूलाई किन तुरुन्त पक्राउ गरिएको छैन? पक्रीन सघाएको पनि कतै देखिएन-ती कैदी होउन/हिंसामा उत्तेजना थप्ने अनि राज्यको सम्पत्ति जलाउने नै किन नहोउन्।
र, ज्वलन्त-जसरी देश संकटमा थियो, किन “जेन-जी ज्याकेट” लगाइएका उद्दारकर्ताहरू खटिएको प्रत्यक्ष देखिएनन्? यी सबै प्रश्नहरूलाई मात्र उठाएर छोड्ने होइन-योग्य समाधान र रोडम्याप दिनु अहिलेको आवश्यकता हो।
अब काम गर्ने बेला हो-न अरूलाई दोष दिनु, न मात्र आक्रोश देखाउनु, तर नीति बनाउनु, संरचना तयारपार्नु र सत्यनिष्ठापूर्वक लागू गर्नु। यो जेन–जीको वास्तविक परीक्षा हो: के उनीहरू केवल प्रदर्शनकारी रहिरहनेछन्, वा राष्ट्र निर्माणको जिम्मेवारी लिन तत्पर छन्?
हामीले जवाफ दिनुपर्छ-आज, आजै…. भोलि त दुनियालाई देखाउनुछ बदलिएको र विकसित नेपाल।
यो लेखमा उद्देश्यपूर्ण, आलोचनात्मक र व्यवहारिक शैलीमा ती सबै प्रश्नको जवाफ खोज्ने प्रयास गर्नेछु, र अन्त्यमा विस्तृत कार्ययोजना/प्राथमिकताहरू प्रस्ताव गर्नेछु-जसले आन्दोलनलाई भावनाबाट नीति र संस्थामा परिवर्तन गर्ने बाटोमा ल्याउन सहयोग गर्नेछ।
-किन आन्दोलन, अहिले “मौन” ?
पहिलो भ्रम यही हो कि आन्दोलन “मौन” छ। वास्तविकता के हो भने प्रदर्शन र सार्वजनिक आक्रोशले विभिन्न चरणपार गरेपछि, नेतृत्व र सहभागीहरूलाई नयाँ स्वरूप र रणनीति बनाउनु आवश्यक हुन्छ। केही कारणहरू यसप्रकार छन्:
-रणनीतिक पुनर्रचना: सडक आन्दोलनले तत्काल प्रभाव त पार्न सक्छ, तर दीर्घकालीन परिवर्तन चाहिन्छ भने संगठनात्मक र कानुनी तयारी अनिवार्य हुन्छ। आन्दोलनले आफ्ना सक्रिय नेतृत्व र संरचना पुनर्विचार गरिरहेको होला तर मिडिया-हेडलाईन पढ्ने म जस्ता पाठकहरु तर्सिने बेला आउन लागेको आभास भएकोछ।
किन कि आन्दोलन र त्यस्को उद्देश्यमा एकता तर त्यो शक्ती ब्यबस्थापन गर्ने क्रममा छिन्न-भिन्न जस्तो! यो त पुराना भनेर साईड-गरिएका दलको शैली होईन र ? उनिहरु सत्ता साझेदारी बाहेक हरेक मुद्दामा बिभाजित रहिरहे।
त्यस्को नतिजा त्यो भयानक सत्ता बदल्ने आन्दोलन थियो । ती भगाईबाट सिकेर एकतबद्दा हुने वा सबैदलमा मिसिने अनि फेरी अर्को अगो देशले खेप्ने त्यो निर्णय दिने बेला भयो । कारीब महिनामा त्यस्तो कुनै गन्ध देखिएन, दुखद पक्ष ।
विद्रोहको स्वर : देश, पुस्ता र परिभाषाको पुनर्जागरण
जेन-जी आन्दोलनको प्रारम्भिक स्वर युवाको क्रान्ति मात्रै होइन, सोचको पुनर्जागरण हो। उनीहरू ‘बा–हरूको शासन’ समाप्त गरेर ‘आमा र नयाँ पुस्ताको सहभागिता’ सुनिश्चित गर्न चाहन्छन्। तर प्रश्न यो हो-के यो जिम्मेवारी पनि बोकेर अघि बढ्ने तयारी छ? केवल विद्रोह होइन, अब “रचनात्मक क्रान्ति” चाहिएको छ।
नेपालमा पहिलोपटक एउटा पुस्ताले राज्य संरचना, संविधान, र शासनशैलीप्रति गहिरो प्रश्न उठाएको छ। यो आन्दोलनले जुन ऊर्जा प्रदर्शन गर्यो, त्यो कुनै पार्टीको थिएन, जनताको ऊर्जा हो। तर हरेक आन्दोलनको अन्त्य यथार्थमै टेकेर हुनुपर्छ, नत्र इतिहास फेरि अर्को चक्रमा फस्छ।
अन्तर्राष्ट्रिय सन्दर्भ र चेतावनी
इतिहासले देखाउँछ-देशभित्रको असन्तोष जब व्यवस्थागत हुन्छ, बाह्य हस्तक्षेप सकृय हुन्छ, र, अपरिहार्य बन्छ। सिरिया, लिबिया, र अफगानिस्तानका उदाहरणले यही सन्देश दिन्छन्-आन्तरिक द्वन्द्व विदेशी शक्तिका लागि प्रवेशद्वार बन्छ। नेपालजस्तो भू-राजनीतिक संवेदनशील देशमा त्यसको खतरा झन् बढी छ।
फ्रान्सका नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले २६ दिनमै राजनीतिक अस्थिरता भोग्नुपरेको घटना पनि चेतावनी हो-लोकप्रियतावाद लामो समय टिक्दैन, यदि त्यो शासन क्षमतामा रूपान्तरण हुन सकेन भने।
त्यसैले, नेपालका जेन-जी नेतृत्व र कार्यकर्ताहरूले बुझ्नुपर्छ-विद्रोहले शासन परिवर्तन गर्न सक्छ, तर शासन सञ्चालन गर्नको लागि दृष्टि, नीति र संयम आवश्यक हुन्छ।
संविधानभित्रै बाटो खोजौं
जेन-जी आन्दोलनले संविधानप्रतिको असन्तोष उजागर गरेको छ। तर समाधान पुनः संविधानभित्रै खोज्नुपर्छ। अहिलेको राजनीतिक विमर्शको मुख्य मुद्दामा केन्द्रित छः
-प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री- जवाफदेही शासनका लागि।
-गैरसांसद मन्त्री हुने अवसर- सीप र दक्षता राष्ट्रसेवामा प्रयोग गर्न।
-प्रदेश पुनर्संरचना वा खारेजी- संघीयता कार्यान्वयनको पुनर्मूल्यांकन।
-संवैधानिक नियुक्तिमा पारदर्शिता र प्रतिस्पर्धा- ‘रिटायर्स क्लब’को अन्त्य।
-स्वतन्त्र न्यायपालिका र भ्रष्टाचारमुक्त प्रशासन- नागरिकको अन्तिम भरोसा।
-राईट टू रिभर्स: असफललाई डीरेल गर्न, ताकी देश बन्धक नबनोस् ।
यी बुँदाहरू केवल कानुनी होइनन्, नैतिक प्रश्न पनि हुन्। संविधानको आत्मा राजनीतिक इमानदारिता र जवाफदेहिता हो—तर त्यही आत्मा राजनीतिले कैद गरेको छ।
लोकतन्त्रको विकल्प लोकतन्त्र
नेल्सन म्यान्डेलाले भनेका थिए—“Democracy is not perfect, but it is better than any alternative.” नेपालले पनि यही बुझ्नुपर्छ।
संविधान जलाउने, अदालतमा आगजनी गर्ने, प्रहरीमाथि हिंसा गर्ने, जेल बाट कैदी भगा उने घटनाले लोकतन्त्रको जग नै कमजोर बनाउँछ।
दण्डहीनतालाई संरक्षण गर्नु आत्मघाती गल्ती हुनेछ। न्यायिक मार्गबाट मात्रै दोषीलाई कारबाही गरिँदा मात्र लोकतन्त्रको मूल्य बढ्छ, बदनाम हुँदैन।
नयाँ पुस्ताको नीति–दिशा : सुसासन र अवसर
जेन-जी पुस्ताले अब नारा होइन, नीति दिनुपर्छ। शासनमा पुगेपछि उनीहरूले यी प्राथमिकता स्पष्ट गर्नुपर्छः
– भ्रष्टाचारविरुद्ध बृहत् जाँचबुझ आयोग स्थापना।
– आर्थिक पारदर्शिता र सम्पत्ति परीक्षण- “Earn with ethics, serve with integrity.”
– विदेशमा मताधिकार (Blockchain Voting) – करिब ५० लाख नेपालीको अधिकार सुरक्षित गर्न।
– युवा रोजगारी सिर्जना र उद्योग पुनरुत्थान – ‘Made in Nepal’ को पुनर्जागरण।
– आयात नियन्त्रण र गुणस्तर सुनिश्चितता – नागरिकको पैसा बाहिरिने बाटो रोक्न।
साथै, प्रविधिको आलोकमा शासन सुदृढ बनाउने समय आएको छ-AI आधारित प्रशासनिक निगरानी, डिजिटल पारदर्शिता पोर्टल, र नागरिक सहभागितामूलक नीति प्रणालीले भ्रष्टाचार घटाउन सक्छ।
अर्थतन्त्रको पुनरुत्थान र विश्वसन्दर्भ
विश्व बैंकको South Asia Development Update (2025) ले नेपालको वृद्धि २.१% मा झर्ने चेतावनी दिएको छ। यसको प्रमुख कारण राजनीतिक अस्थिरता, लगानी अभाव र निर्णय-ढिलाइ हो।
जेन-जी पुस्ताले अर्थनीति नयाँ सोचबाट लेख्नुपर्छ-“Entrepreneurial State” को अवधारणा अनुसार राज्य र निजी क्षेत्र मिलेर उद्योग, पर्यटन र डिजिटल सेवा क्षेत्रमा लगानी बढाउनुपर्छ।
सिंगापुर र दक्षिण कोरियाले यही बाटो समातेका थिए-राजनीतिक स्थिरता र नीति निरन्तरताले उनीहरूलाई समृद्ध बनाए।
आन्दोलनको आत्मा र दिशा
जेन-जी आन्दोलन कुनै व्यक्तिको होइन, एक पुस्ताको साझा चेतना हो। तर चेतनाले मात्रै प्रणाली परिवर्तन गर्दैन, अभ्यासले गर्छ।
यस आन्दोलनको निसाना प्रणाली हो कि प्रवृत्ति-यो स्पष्ट हुनुपर्छ। यदि उनीहरू पनि ग्रुपिज्म, अवसरवाद र सत्ता–लालसामा फँसे भने भिन्नता खोज्न सकिँदैन।
विद्रोहको आगोले फिनिक्स बन्ने हो भने त्यहाँ आत्म-अनुशासन र नीति–दृष्टि चाहिन्छ।
अबको गन्तव्य : स्थायित्व र सदाचार
नेपालको यात्रा अहिले “अवसर र चुनौतीको संगम” मा छ। स्थिर सरकार, सुदृढ अर्थतन्त्र, प्रत्यक्ष कार्यकारी र भ्रष्टाचारमुक्त प्रणाली अब जनताको एकमात्र माग हो।
जेन-जीले यो पुस्तालाई निरन्तर निगरानी, आलोचनात्मक समर्थन र रचनात्मक प्रतिरोधको माध्यमबाट लोकतन्त्रको सुदृढीकरण गर्नुपर्छ।
नेपालले अब फेरि बंगलादेश, श्रीलंका वा अफगानिस्तानको बाटोमा नपरोस् भन्ने चेतावनी सर्वत्र सुन्न सकिन्छ। त्यसैले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो-तर सुधारिएको, उत्तरदायी, पारदर्शी लोकतन्त्र।
अन्ततः
जेन-जी आन्दोलनले नेपाललाई एउटा अभूतपूर्व मोडमा ल्याएको छ। अब यो विद्रोहलाई शासनमा रूपान्तरण गर्ने जिम्मा पनि उनीहरुकै काँधमा छ।
“क्रान्ति सुरु गर्न सजिलो हुन्छ,” फ्रान्सेली दार्शनिक रूसोले भनेका थिए, “तर त्यसलाई टिकाइराख्न कठिन।”
त्यसैले, अबको नेपालको पहिलो कार्य-“संविधानभित्र रहेर सुधार, व्यवहारमा इमान र शासनमा पारदर्शिता।”
त्यो भयो भने, नेपालमा नयाँ युग सुरु हुनेछ-जसलाई इतिहासले “Generation of Integrity” भनेर चिन्नेछ।
















Facebook Comment