दसैंपछि मुस्ताङ भन्सार सञ्चालनमा

डिसी नेपाल
२३ असोज २०८२ १३:३५
20
Shares

मुस्ताङ । गत भदौ ३१ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको उत्तरी कोरलानाकास्थित न्हेचुङको भन्सार कार्यालय दसैँ पछि आजदेखि सञ्चालनमा आएको छ । गत असोज १३ गते कर्मचारी दसैँ मनाउन घर गएपछि कार्यालय बन्द थियो ।

कार्यालयमा निकासी तथा पैठारीकर्ता मालवस्तु धनीका अख्तियार प्राप्त प्रतिनिधि उपस्थित नहुँदा मालवस्तु जाँचपासलगायतका काम सुरु नभएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए।

दसैंमा बिदा हुँदा चीनबाट आयात गरिएका मालवस्तु तथा विद्युतीय कार न्हेचुङ भन्सारमा जाँचपासका लागि रोकिएका छन्। नाकाबाट मालवस्तु आयात गरी मालवाहक र विद्युतीय कारहरु जम्मा भएको सूचना प्राप्त भएको भन्सार प्रमुख खड्काले बताए।

कोरलानाकाबाट दसैँ अघिसम्म रु दुई अर्ब दुई करोड ९६ लाख राजस्व सङ्कलन भएको थियो। त्यस अवधिसम्म कोरलानाकाबाट भित्रिएका एक हजार १०९ वटा विद्युतीय कारमध्ये ९६५ वटा विद्युतीय कारको भन्सार जाँचपास भई गन्तव्यमा पुगिसकेका छन्।

यसैगरी चिनियाँ मालवस्तु ढुवानी गरिएका ३७५ वटा मालवाहकको भन्सार जाँचपास भएको छ। यसअघि यहाँको मुस्ताङ भन्सार कार्यालय उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै खुल्ला हुँदा थोरै मात्र राजस्व सङ्कलन हुने गरेको थियो।

गत साउन, भदौमा रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण अवरुद्ध भएपछि भन्सार विभागले कोरलानाकालाई प्रयोगमा ल्याएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *