काठमाडौंमा अवैध ‘म्यारिज ब्युरो’ सञ्चालन गर्दै आएका ४ चिनियाँ नागरिक पक्राउ
काठमाडौं। व्यावसायिक भिसामा नेपाल बसेर अवैध रूपमा ‘म्यारिज ब्युरो’ चलाएको आरोपमा ४ जना चिनियाँ नागरिकलाई काठमाडौंको सोह्रखुट्टे क्षेत्रबाट अध्यागमन विभागको टोलीले पक्राउ गरेको छ। मिलिजुली चोक नजिकै सञ्चालनमा रहेको गतिविधिबारे सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको विभागले जनाएको छ।
अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार पक्राउ परेकामध्ये एक महिला र तीन पुरुष छन्। उनीहरूले आर्थिक अवस्था कमजोर भएका नेपाली युवतीहरूलाई चिनियाँ नागरिकसँग विवाह गराउने गैरकानुनी काम गर्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
ढकालका अनुसार हाउजिङ क्षेत्रमा बस्दै आएका ती चारैजनासँग व्यावसायिक भिसा त भए पनि उनीहरूले नेपालको भूमिमा के व्यवसाय गरिरहेका छन् भन्ने प्रश्नको स्पष्ट जवाफ दिन सकेनन्।
अनुसन्धानमा उनीहरूले नेपाली किशोरीहरूलाई टिकटक भिडियो बनाउन लगाउने र त्यसैमार्फत अन्य चिनियाँ नागरिकसँग ‘सिन्क’ गराएर विवाहको प्रक्रिया अघि बढाउने गरेको खुल्न थालेको छ। विभागको तथ्यांकअनुसार केही युवतीलाई उनीहरूले चीनसम्म लगेको प्रमाण समेत भेटिएको छ।
पक्राऊ परेकामध्ये दुईजना विगत १० वर्षदेखि पर्यटक, अध्ययन र व्यावसायिक भिसा नवीकरण गर्दै नेपालमै बस्दै आएको पाइएको छ। नेपालको कानुनअनुसार गैरकानुनी क्रियाकलापमा संलग्न विदेशीलाई ५० हजार रुपैयाँसम्म जरिवाना र देश निष्कासन गर्ने व्यवस्था छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment