देउवा पक्षका सिटौलालाई हटाएर गगन थापा निकट कमला पन्त राष्ट्रिय सभा दलको नेता मनोनित
काठमाडाैं। नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलनमा नयाँ फेरबदल देखिने गरी राष्ट्रिय सभा संसदीय दलको नेतामा कमला पन्त मनोनयन भएकी छन्।
पार्टीको संसदीय अभ्यास र विधानको प्रयोग गर्दै प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पन्तलाई सो जिम्मेवारी सुम्पेका हुन्। यसअघि यो महत्वपूर्ण जिम्मेवारीमा पार्टीका प्रभावशाली नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यरत थिए।
सिटौलालाई जिम्मेवारीबाट मुक्त गर्दै पन्तलाई अघि सारिएपछि कांग्रेसभित्रको गुटगत समीकरण र आगामी राजनीतिक दिशालाई लिएर विभिन्न अड्कलबाजीहरू सुरु भएका छन्।
कांग्रेस विधानको व्यवस्था अनुसार प्रतिनिधि सभा दलको नेतालाई राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने विशेषाधिकार रहेको छ। सोही अधिकारको प्रयोग गर्दै सिटौलाको स्थानमा पन्तलाई ल्याइएको जानकारी कांग्रेस संसदीय दलको कार्यालयले दिएको छ।
निवर्तमान दलका नेता सिटौला सभापति शेरबहादुर देउवा निकटका मानिन्थे भने नवनियुक्त नेता पन्त पार्टीभित्रको संस्थापन इतर पक्ष अर्थात् सभापति गगन थापा समूहको खम्बाका रूपमा चिनिन्छिन्।
पार्टीभित्रको वैचारिक र सांगठनिक सुधारका लागि विशेष महाधिवेशनको वकालत गर्दै आएकी पन्तको यो पदोन्नतिलाई इतर पक्षको बढ्दो प्रभावका रूपमा समेत हेरिएको छ।







डिसी नेपाल







Facebook Comment