प्रेस स्वतन्त्रता र व्यावसायिकताको सवाल: आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
काठमाडौं। संसारभरका पत्रकार र सञ्चारकर्मीहरूको हक-हित था प्रेस स्वतन्त्रताको रक्षाका निम्ति आज ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मे ३ तारिखलाई प्रेस स्वतन्त्रताको विशेष दिवसका रूपमा मनाउन थालिएको हो। यस वर्ष पनि प्रेस स्वतन्त्रताको महत्व, पत्रकारहरूको सुरक्षा र सूचनाको हकको ग्यारेन्टी गर्ने उद्देश्यका साथ नेपालसहित विश्वभर यो दिवस मनाउन लागिएको छ।
नेपालमा पनि नेपाल पत्रकार महासंघ र विभिन्न सञ्चार सम्बद्ध संस्थाहरूले यो दिवसको अवसरमा प्रभातफेरी, अन्तर्क्रिया र गोष्ठीहरू आयोजना गरेका छन्। लोकतान्त्रिक व्यवस्थामा प्रेसलाई राज्यको चौथो अंग मानिने भएकाले यसको स्वतन्त्रता र निष्पक्षताले नै लोकतन्त्रलाई बलियो बनाउने विश्वास गरिन्छ।
आजको दिन सञ्चार जगत्ले भोग्नुपरिरहेका चुनौतीहरू, खासगरी पत्रकारमाथि हुने भौतिक तथा मानसिक आक्रमण, धम्की र कानुनी अड्चनहरूका विषयमा बहस गरिँदैछ। पछिल्लो समय प्रविधिको विकाससँगै फैलिएका भ्रामक सूचना र डिजिटल सुरक्षाका चुनौतीहरूका बीच स्वतन्त्र पत्रकारिताको सान्दर्भिकता झन् बढेको सरोकारवालाहरूले बताएका छन्।
दिवसको सन्दर्भमा सरकार र विभिन्न राजनीतिक दलका नेताहरूले प्रेस स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।
उनीहरूले स्वस्थ र मर्यादित पत्रकारिताको विकासका लागि आवश्यक ऐन-कानुनहरू निर्माण गर्ने र पत्रकारको पेसागत सुरक्षा सुनिश्चित गर्ने आश्वासन दिएका छन्। अर्कातर्फ, पत्रकारिता क्षेत्रभित्रै पनि व्यावसायिकता, सत्यतथ्य जाँच र निष्पक्षताका विषयमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
प्रेस स्वतन्त्रता केवल पत्रकारका लागि मात्र नभई आम नागरिकको सूचना पाउने नैसर्गिक अधिकारसँग जोडिएकाले यसको रक्षाका लागि राज्य र समाज दुवैको साझा दायित्व रहने सन्देश आजको दिवसले दिएको छ।







डिसी नेपाल







Facebook Comment