रास्वपा सचिवालय बैठक आज बस्दै: स्थानीय तह निर्वाचन र महाधिवेशन कार्यविधिमा केन्द्रित हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन्।
आज दिउँसो १२:३० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’मा बस्ने गरी बैठक बोलाइएको हो। पार्टीले आगामी राजनीतिक र सांगठानिक रणनीति तय गर्ने उद्देश्यका साथ यो बैठक बोलाएको हाे।
आजको बैठकमा मुख्य गरी स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ का विषयमा गम्भीर छलफल हुने बताइएको छ। आगामी स्थानीय निर्वाचनका लागि योग्य र सक्षम उम्मेदवार कसरी चयन गर्ने भन्ने विषयमा रास्वपाले नयाँ विधि र मापदण्ड तयार पार्न लागेको हो।
यसका साथै पार्टीको आगामी महाधिवेशनलाई व्यवस्थित बनाउनका लागि महाधिवेशन कार्यविधि २०८३ का सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यसूची रहेको छ।
बैठकले संसदीय दलको विधान संशोधनका विषयलाई पनि प्राथमिकतामा राखेको छ। पार्टीको संसदीय भूमिकालाई अझ प्रभावकारी बनाउन विधानमा गर्नुपर्ने परिमार्जन र अन्य विविध समसामयिक राजनीतिक विषयहरूमा सचिवालय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्।
रास्वपाले आफ्नो सांगठानिक संरचनालाई बलियो बनाउँदै आगामी निर्वाचन र महाधिवेशनको तयारीलाई तीव्रता दिन आजको बैठकमा महत्वपूर्ण निर्णयहरू लिन सक्ने अपेक्षा गरिएको छ।







डिसी नेपाल







Facebook Comment