मन्त्री पौडेलसँग राजदूत लोरेन्जोको शिष्टाचार भेट

डिसी नेपाल
२२ वैशाख २०८३ २१:३६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेका छन्।

आज यहाँ मन्त्रालयमा भएको भेटवार्तामा संस्कृति, पर्यटन प्रवर्द्धन र हवाई सुरक्षालगायत समसामयिक विषयमा छलफल भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

मन्त्री पौडेलले सांस्कृतिक सम्पदा, आध्यात्मिक परम्परा र प्राकृतिक सुन्दरताले नेपाललाई आरोग्यको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार गरेको उल्लेख गर्दै सहकार्यका सम्भावनाबारे चर्चा गरेका थिए।

उनले नेपालको हवाई उड्डयन सुरक्षा र नेपाल नागरिक उड्डयन प्राधिकरणको संस्थागत क्षमता सुदृढीकरणका लागि गरिएका प्रयास, आरोग्य पर्यटनसहित पर्यटन प्रवर्द्धनका लागि भएका नीतिगत सुधारहरूबारे पनि जानकारी गराए।

राजदूत लोरेन्जोले संस्कृति तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाललाई हवाई सुरक्षा सूचीबाट हटाउनु इयू र नेपाल दुवैको साझा लक्ष्य रहेको बताउँदै नेपालले हवाई सुरक्षा सुधारमा गरेको प्रयास तथा क्षेत्रीय समस्या समाधानमा देखाएको तदारुकताप्रति सन्तोष व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *