प्रधानमन्त्रीको कार्यशैलीप्रति कांग्रेसको प्रश्न: संवैधानिक संस्कार र संसदीय मर्यादा कहाँ गयो?
काठमाडाैं। राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री सदनबाट बाहिरिएको विषयलाई लिएर नेपाली कांग्रेसले संसदमा कडा आपत्ति जनाएको छ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद वासना थापाले आकस्मिक समय लिएर बोल्दै प्रधानमन्त्रीको उक्त कार्यले संवैधानिक संस्कार र संसदीय मर्यादामाथि गम्भीर प्रश्न उठाएको बताइन्।
सोमबारको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरिरहेकै समयमा प्रधानमन्त्री बालेन्द्र शाह हलबाट बाहिरिएको दृश्य संसदीय इतिहासमा विरलै देखिने र अशोभनीय भएको कांग्रेसको ठहर छ।
सांसद थापाले सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला सरकार प्रमुख नै बाहिरिनुले सरकारको गम्भीरतामाथि प्रश्न उठेको उल्लेख गर्दै यसबारे प्रधानमन्त्रीले सदनमा स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्।
उनले लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा हुने स्मरण गराउँदै संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई नधमिल्याउन सरकारलाई सचेत गराएकी छन्।
यो घटना सामान्य नभएकाले सरकारले यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने र यस्ता क्रियाकलापले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने उनको दाबी छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment