नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड
काठमाडौं। नेपाललाई विश्वस्तरीय आरोग्य (वेलनेश) पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ।
नेपाल पर्यटन बोर्डमा आज आयोजित ‘वेलनेस पर्यटन’ विषयक अन्तक्र्रियामा नेपाललाई विश्वस्तरीय वेलनेस पर्यटन गन्तव्यका रुपमा विकास गर्न मौलिकता, संस्कृति, प्रकृति र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको हो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सरकारले वेलनेस पर्यटन रणनीति कार्यान्वयन गरिरहेको बताए। उनले सन् २०२७ लाई वेलनेस पर्यटन वर्षका रुपमा घोषणा गरिसकेकाले अन्तरक्रियाले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
“आजको प्रस्तुति र अन्तरक्रियाबाट प्राप्त मूल्यवान् सुझावले आगामी योजना निर्माणमा सहयोग पुर्याउने विश्वास लिएको छु”, उनले भने। नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले विश्वव्यापी वेलनेस यात्राका लागि नेपाल प्राकृतिक रूपमा अनुपम गन्तव्य भएको बताए।
“नेपालले प्रकृति, संस्कृति र साहसिक अनुभवमार्फत विश्वलाई प्रेरणा दिनसक्छ, नेपालको संस्कृति र प्रकृति नै आरोग्य पर्यटनका लागि उत्कृष्ट स्रोतहरु हुन्”, उनले भने।
कार्यक्रममा हङ्कङ पोलिटेक्निक विश्वविद्यालयअन्तर्गतको स्कुल अफ होटल एण्ड टुरिजम म्यानेजमेन्टका सहायक डिन प्रा डा डेनिज क्युचकुस्ताले विश्वभरका पर्यटक अहिले उपचार, आत्मिक सन्तुलन र अर्थपूर्ण अनुभवको खोजीमा यात्रा गरिरहेको भन्दै नेपाल वेलनेस पर्यटनको नेतृत्व गर्न प्राकृतिक रूपमा सक्षम रहेको बताए।
“नेपालले वेलनेस आविष्कार गर्न आवश्यक छैन, यसलाई व्यवस्थित मात्र गर्नुपर्नेछ”, उहाँले भन्नुभयो। योग गुरु डा प्रकाश आचार्यले योग केवल व्यायाममात्र नभई समग्र जीवनशैली भएको बताउनुभयो। सो अन्तरक्रियाको सुरुआत ध्वनी चिकित्सा सत्रबाट गरिएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment