सीमा विवादलाई लिएर हुम्लाका नागरिकको आक्रमण: बाजुराका प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना घाइते
बाजुरा । बाजुराको हिमाली गाउँपालिका-३ लाम्पाटामा हुम्लाका स्थानीय बासिन्दा र भ्रमण टोलीबीच भीषण झडप भएको छ। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोली अपि सैपाल हिमालको बेसक्याम्प ‘रानी सैन’ भ्रमणमा जाँदै गर्दा हुम्लाका नागरिकहरूले आक्रमण गरेका हुन्।
आक्रमणमा परी हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा, वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, ३३ वर्षीया लक्ष्मी गुरुङ, २४ वर्षीया मिनु कुवँर र प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी जवान महेश धामी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घाइतेहरूको ढाड, गर्धन, छाती र खुट्टामा चोट लागेको छ भने उनीहरूको अवस्था सामान्य रहेको छ।
‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौ’ अभियान अन्तर्गत धनगढीका मेयर गोपाल हमाल, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की र प्रशासकीय अधिकृतसहित ४० जनाको टोली रानी सैनतर्फ गइरहेको थियो।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेश बहादुर शाहीका अनुसार टोलीले ड्रोनबाट भिडियो खिच्ने क्रममा हुम्लाको खार्पुनाथ गाउँपालिका-२ थाली गाउँका करिब दुई सयभन्दा बढी स्थानीय बासिन्दाहरू एक्कासि आक्रोशित भई वादविवाद र हातपातमा उत्रिएका थिए। करिब तीन सयको संख्यामा रहेका हुम्ली नागरिकहरू अराजक शैलीमा प्रस्तुत भएपछि घाइतेहरूलाई लिएर भ्रमण टोली गन्तव्यमा नपुगी बीच बाटोबाटै फर्किएको छ।
यो विवादको मुख्य जड बाजुरा र हुम्लाबीचको लामो समयदेखिको सिमाना विवाद हो। बाजुराको हिमाली गाउँपालिका–३ मा पर्ने लाम्पाटा र च्याचौर क्षेत्रलाई हुम्लाबासीहरूले आफ्नो जिल्लाको भूभाग दाबी गर्दै आएका छन्।
यद्यपि, नापी, लालपुर्जा तथा प्रशासनिक अभिलेख अनुसार रानी सैन, च्याचौर र लाम्पाटा क्षेत्र बाजुरा जिल्लाकै अधीनमा पर्दछ। यस क्षेत्रको सुरक्षाका लागि लाम्पाटा स्थित च्याचौरमा अस्थायी प्रहरी चौकी भवन निर्माण कार्य भइरहेको छ, जसलाई लिएर यही जेठ ३ गते पनि स्थानीयहरूबीच विवाद भएको थियो।
प्रहरी चौकी निर्माण र सिमानाकै विवादका कारण आक्रोशित हुम्ली जनताले गरेको यस निन्दनीय आक्रमणप्रति बाजुरेली नागरिकहरूले घोर आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमा समेत यस घटनाको चौतर्फी भर्त्सना भइरहेको छ भने स्थानीयबासीले दोषीहरूलाई तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।







डिसी नेपाल







Facebook Comment