लौकही सिटी हल उद्घाटनमा राष्ट्रपति पौडेल: ‘संघीयतामा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक छ’
सुनसरी। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै स्थानीय सरकारको महत्त्व र गरिमा अझ व्यापक एवं गहन भएको बताएका छन्। सुनसरीको कोशी गाउँपालिकामा नवनिर्मित लौकही सिटी हलको भव्य उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
राष्ट्रपति पौडेलले जनताका न्यूनतम आधारभूत आवश्यकता र जनचाहना अनुरूप विकासका कार्यहरूलाई तीव्रता दिनुपर्नेमा जोड दिए। संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्श अनुरूपका कार्यहरूलाई साकार बनाउन स्थानीय तहहरू सदैव दत्तचित्त र क्रियाशील हुनुपर्ने उनको भनाइ थियो। शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित, संविधान र शासन प्रणालीले राखेको मूल उद्देश्य पूरा हुने विश्वास व्यक्त गर्दै उनले यसतर्फ विशेष ध्यान दिन जनप्रतिनिधिहरूलाई आग्रह गरे।
स्थानीय तहलाई जनताको सबैभन्दा नजिकको सरकारका रूपमा उल्लेख गर्दै राष्ट्रपति पौडेलले जनअपेक्षा अनुरूप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु र विकास निर्माणका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको मुख्य दायित्व भएको प्रष्ट पारे।
ग्रामीण क्षेत्रमा यस प्रकारको आधुनिक तथा बहुउपयोगी सिटी हल निर्माण हुनु निकै सराहनीय कदम भएको र यो परियोजनाले विकासका कार्यमा तीनै तहका सरकारबीच हुनसक्ने आपसी सहकार्यको एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको उनले बताए।
सम्बोधनका क्रममा उनले सप्तकोशी नदीको किनारमा रहेको कोशी गाउँपालिकाको ऐतिहासिक एवम् धार्मिक महत्त्वको समेत चर्चा गरे। हाल कोशी गाउँपालिकामा पर्ने सप्तकोशी नदीको कुशाहाघाटमा प्रजातन्त्र प्राप्तिका लागि क्रान्ति भएको इतिहास स्मरण गर्दै उनले यो भूमिलाई प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको कडीका रूपमा चित्रण गरे।
यस क्षेत्रको सामीप्यमा रहेका बराहक्षेत्रधाम, रामधुनी, पिण्डेश्वर, दन्तकाली तथा बुढासुब्बा जस्ता महत्त्वपूर्ण धार्मिक स्थलहरूको भ्रमणबाट आफूलाई मनोरम अनुभूति भएको बताउँदै राष्ट्रपति पौडेलले ऐतिहासिक, भौगोलिक तथा धार्मिक दृष्टिकोणले प्रचुर सम्भावना बोकेको यस क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरे।
विगतको स्मरण गर्दै राष्ट्रपति पौडेलले वि.सं. २०६५ सालमा कोशी बाँध फुट्दा विस्थापित भएको बस्ती अहिले पुनः स्थापित भई विकासका गतिविधिहरू तीव्र रूपमा अघि बढेको देख्दा खुसी लागेको व्यक्त गरे। उनले बाढीपीडित तथा जोखिमयुक्त यस क्षेत्रमा विपद् व्यवस्थापनका पूर्वतयारीका लागि पर्याप्त व्यवस्था मिलाउन तीनै तहका सरकारको आपसी हातेमालो र विशेष ध्यान पुग्ने अपेक्षा समेत राखे।







डिसी नेपाल







Facebook Comment