काफल पोखिएकी महिलालाई वीरेन्द्रनगर नगरपालिकाद्वारा १० हजार रुपैयाँ सहयोग

डिसी नेपाल
६ जेठ २०८३ २०:१५

सुर्खेत। सुर्खेतमा सडक किनारमा बसेर काफल बेचिरहेकी एक महिलाको डोको खोसेर काफल पोखिदिएको घटनाका पीडितलाई वीरेन्द्रनगर नगरपालिकाले आर्थिक सहयोग गरेको छ। नगरपालिकाकी मेयर मोहनमाया ढकाल (भण्डारी) ले पीडित महिलालाई कार्यालयमै बोलाएर नगद १० हजार रुपैयाँ प्रदान गरेकी हुन्।

मेयर ढकालका अनुसार नगरपालिकाका कर्मचारी परिचालन गरी ती महिलाको खोजी गरिएको थियो। “उहाँले साढे सात हजार रुपैयाँ बराबरको काफल रहेको बताउनुभएको थियो, हामीले थप गरेर १० हजार रुपैयाँ दियौं,” मेयर ढकालले भनिन्, “सडकमा बसेर व्यापार गर्दा दुर्घटनाको जोखिम हुने भएकाले आगामी दिनमा नगरपालिकाले तोकेको सुरक्षित स्थानमा व्यापार गर्न समेत सम्झाएर पठाएका छौँ।”

पीडित महिला कालिकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ मा बस्दै आएकी ३२ वर्षीया धनीकला चौलागाईं हुन्। उनी सुर्खेतमा डोको–नाङ्लोमा सिजन अनुसारका फलफूल तथा सामान बेचेर परिवारको गुजारा चलाउँदै आएकी छन्। उनका श्रीमान् र ससाना बालकालिका छन्।

यसैबीच, नगर प्रहरीको उक्त व्यवहारप्रति चौतर्फी आलोचना भएपछि नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले बुधबार एक विज्ञप्ति जारी गर्दै सडक व्यवसाय व्यवस्थापन गर्ने क्रममा अमर्यादित व्यवहार गर्ने दोषी नगर प्रहरीलाई विभागीय कारबाही गरिने प्रतिबद्धता जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *