पछिल्ला चौबिस घण्टामा केही जिल्लामा भारी वर्षा
काठमाडौं। तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण केही जिल्लामा भारी वर्षा भएको हो।
विभागका अनुसार पछिल्ला २४ घण्टामा सङ्खुवासभाको तुम्लिङटारमा ९५ मिलिमिटर, सुनसरीको चतरामा ८३ दशमलव चार मिलिमिटर वर्षा भएको छ। यस्तै, मकवानपुरमा ६७ दशमलव चार, तनहुँमा ६२, पर्वतमा ५० दशमलव चार मिलिमिटर वर्षा भएको छ। यी सबै ठाउँमा भारी वर्षा भएको हो।
गएराति हुम्लामा भएको वर्षाले ठूलो भौतिक क्षति पुर्याएको थियो। हाल पनि सुनसुरी, सङ्खुवासभा, सिन्धुपाल्चोक, पाल्पा र सोलुखुम्बुका केही क्षेत्रमा पानी परिरहेको विभागले जनाएको छ।
तराई क्षेत्रमा भने तापक्रम बढ्दो छ। आज धनगढी, दिपायल र नेपालगञ्जमा ४० डिग्रीभन्दा माथि तापक्रम रहेको छ। काठमाडौँमा पनि अधिकतम तापक्रम २८ दशमलव चार डिग्री पुगेको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार बिहीबार कोशी प्रदेशलगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ।
मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई भू–भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा, मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानहरूमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको विभागले आज साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ।







डिसी नेपाल







Facebook Comment