स्ट्रेट अफ हर्मुजमा इरानको नयाँ व्यवस्थापन क्षेत्र घोषणा, जहाजहरूलाई पूर्वअनुमति अनिवार्य
एजेन्सी। इरानले विश्वकै संवेदनशील समुद्री व्यापार मार्गमध्ये पर्ने स्ट्रेट अफ हर्मुजमाथि आफ्नो नियन्त्रण अझ कडा बनाउने कदमस्वरूप नयाँ व्यवस्थापन तथा अनुगमन क्षेत्रको सीमा औपचारिक रूपमा निर्धारण गरेको छ।
भर्खरै गठन गरिएको ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ (पिजिएसए) ले अब उक्त जलघाँटी पार गर्ने सम्पूर्ण जहाजहरूले अनिवार्य रूपमा समन्वय र पूर्वअनुमति लिनुपर्ने व्यवस्था लागू गरेको जनाएको हो।
पिजिएसएले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको विवरणअनुसार यो नयाँ पर्यवेक्षण क्षेत्र इरानको कुह मोबारकदेखि संयुक्त अरब इमिरेट्सको फुजैराको दक्षिणी समुद्री क्षेत्रसम्म फैलिएको छ, जुन स्ट्रेट अफ हर्मुजको पूर्वी भागमा पर्दछ।
इरानको केश्म टापुको अन्तिम विन्दु र संयुक्त अरब इमिरेट्सको उम्म अल-कैवेनलाई जोड्ने काल्पनिक रेखाबाट सुरु हुने यस नयाँ व्यवस्थाअनुसार पिजिएसएबाट पूर्वअनुमति नलिई कुनै पनि जहाजले उक्त क्षेत्रमा प्रवेश गर्न पाउने छैनन्।
व्यवस्थापन निकायले जलमार्गको सुरक्षा, सञ्चालन र निगरानीलाई व्यवस्थित बनाउने उद्देश्यले यस्तो कदम चालिएको दाबी गरेको छ।
यो रणनीतिक घोषणा अमेरिका र इरानबीच जारी शान्ति वार्तामा कुनै प्रगति नभइरहेका बेला आएको हो, जहाँ दुवै पक्ष आ-आफ्ना अडानमा अडिग देखिन्छन्।
वासिङ्टनले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्न दबाब दिइरहेको छ भने तेहरानले आफ्नो ऊर्जा सुरक्षा र स्ट्रेट अफ हर्मुजमाथिको नियन्त्रणलाई राष्ट्रिय अधिकारको विषयका रूपमा प्रस्तुत गरिरहेको छ।
इस्लामिक गणतन्त्र इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि पिजिएसएको आधिकारिकता पुष्टि गर्दै नयाँ नियामक निकाय सञ्चालनमा आएको जनाएको छ।
विश्लेषकहरूले यस कदमलाई विश्व ऊर्जा आपूर्ति प्रणालीसँग प्रत्यक्ष सम्बन्धित रणनीतिक सन्देशका रूपमा हेरिरहेका छन्, किनकि स्ट्रेट अफ हर्मुजबाट विश्वको ठूलो हिस्सा कच्चा तेल तथा ऊर्जा आपूर्ति हुने गर्दछ।
नयाँ निकायको स्थापनासँगै इरानले अब यस अन्तर्राष्ट्रिय जलमार्गको सञ्चालन, अनुगमन र प्रशासनिक नियन्त्रणलाई संस्थागत स्वरूप दिएको सङ्केत मिलेको छ।
इरानी सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार तेहरानले स्ट्रेट अफ हर्मुज हुँदै हुने समुद्री आवागमन नियन्त्रण गर्न नयाँ संयन्त्र पूर्ण रूपमा लागू गरिसकेको छ। अब उक्त जलमार्ग प्रयोग गर्न चाहने सबै जहाजहरूले आधिकारिक इमेल ठेगाना ([email protected]) मार्फत मार्ग प्रयोगसम्बन्धी नियम, प्रक्रिया र निर्देशनहरू प्राप्त गर्नेछन् र हर्मुज प्रवेश गर्नुअघि ट्रान्जिट अनुमति लिन अनिवार्य गरिएको छ।
हाल अमेरिका–इजरायल गठबन्धन सेना र इरानबीचको बढ्दो तनावका कारण यो समुद्री मार्गमा अस्थिरता र अवरोध सिर्जना भइरहेका बेला इरानले आफ्नो नियन्त्रण प्रणालीलाई थप औपचारिक र कडा बनाएको हो।
प्रेस टिभीले पिजिएसएको यो पहललाई इरानको ‘सार्वभौम शासन संयन्त्र’ का रूपमा वर्णन गरेको छ, जसले सो क्षेत्रमा हुने हरेक गतिविधिमाथि अब प्रत्यक्ष निगरानी राख्नेछ।







डिसी नेपाल







Facebook Comment