संसद्‌मा बाँदरको चर्चा: “बदमासी गर्ने मान्छे जेल पर्छ, उठिबास लगाउने बाँदरलाई के गर्ने?”

डिसी नेपाल
७ जेठ २०८३ १३:०९

काठमाडौं। नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले मुलुकका विभिन्न भागमा देखिएको बाँदरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर नभएको भन्दै कडा आपत्ति जनाएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले बाँदरका कारण गाउँगाउँमा जनताको उठिबास भइरहेको भन्दै यो समस्याको तत्काल समाधान खोज्नुपर्नेमा जोड दिए।

बैठकमा विशेष समय लिएर बोल्दै उनले बाँदरका कारण सर्वसाधारणले खेतीपाती गर्न नपाएको र जीविकोपार्जनमै ठूलो संकट परेको बताए।

“बाँदरको विषयमा सरकार किन गम्भीर हुँदैन? यदि कुनै मान्छेले बदमासी गर्‍यो भने उसलाई प्रहरीले समातेर जेलमा थुन्छ। तर, आज बाँदरले सयौं मानिसहरूलाई बसाइँ सर्न बाध्य पारिसक्यो, सयौं मानिसहरूले दुःख गरेर उब्जाएको अन्नबाली खान पाएका छैनन्,” सांसद राईले आक्रोश पोख्दै भने, “जनताको जीवनमा बाँदर अहिले सबैभन्दा ठूलो समस्या बनेको छ। यसलाई नियन्त्रण गर्न सकिएन भने नागरिकको जीवनस्तर परिवर्तन गर्ने राज्यको लक्ष्यमा ठूलो धक्का लाग्नेछ।”

सांसद राईले कानुनी वा अन्य व्यावहारिक उपायहरू अपनाएर कसरी बाँदर नियन्त्रण गर्ने भन्ने स्पष्ट कार्ययोजनासहित सात दिनभित्र संसद्‌मा जवाफ दिन सरकारसँग माग गरेका छन्।

उनले सरकारले यस विषयलाई हल्का रूपमा लिए आगामी दिनमा संसद् चल्न समेत कठिन हुने चेतावनी दिए। उनले भने, “यदि सात दिनभित्र सरकारले यसबारे स्पष्ट जवाफ दिएन भने अर्को बैठकमा सबै दलका सांसदहरूले यो कुरा उठाउनुहुनेछ र सदन चलाउन गाह्रो हुनेछ। त्यसैले सरकारलाई सात दिनभित्रै उचित जवाफका साथ प्रस्तुत हुन आग्रह गर्दछु।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *