लालीबजार : पीडालाई व्यावसायिक स्वादमा पस्किएको कथा

डिसी नेपाल
८ जेठ २०८३ १३:०५

काठमाडौं। कहिलेकाहीँ केही फिल्महरू कथा सुनाउनुभन्दा पनि समाजको चिरफार गर्न जन्मिएका हुन्छन्।

‘लालीबजार’ त्यस्तै एउटा प्रयास हो। वादी समुदायभित्र दबिएर बाँचेका जीवन, महिलामाथि थोपरिएको संरचनात्मक अन्याय र प्रेमले समाजसँग हार खानुपरेको यथार्थलाई यस चलचित्रमा पर्दामा उतार्ने प्रयास गरिएको छ।

निर्देशक यम थापाले के देखाउन खोजेका हुन् भन्ने कुरामा फिल्मले अलमल्याउँदैन। दृश्यहरू अनावश्यक रूपमा लम्ब्याइएका छैनन् र कथाले घुमाउरो बाटो पनि समात्दैन। त्यसैले फिल्म सुरु भएसँगै दर्शकहरू सहजै ‘लालीबजार’को संसारभित्र छिर्छन्।

फिल्मको केन्द्रमा छिन्- मधुवाला, अर्थात् स्वस्तिमा खड्काले निभाएको मुख्य पात्र। घरकी बिरामी आमा, जँड्याहा भाइ र जीवन धान्ने जिम्मेवारी बोकेकी मधु शरीर बेचेरै परिवार पालिरहेकी छिन्। यसै क्रममा उनको गाउँकै बाहुन युवक नारायणसँग प्रेम बस्छ।

उनीहरू भागेर विवाह त गर्छन्, तर समाजले त्यो अन्तरजातीय सम्बन्धलाई स्वीकार गर्दैन। अन्ततः प्रेमभन्दा ठुलो जात र वर्ग ठहरिन्छ। फलस्वरूप, मधु आफ्नो पेटमा एउटा भविष्य (गर्भ) बोकेर पुनः लालीबजार नै फर्किन बाध्य हुन्छिन्।

फिल्मको मूलभाव त्यहीँबाट सुरु हुन्छ- एउटी आमाले आफ्नी छोरीलाई आफूजस्तो नरकीय जीवन नदिने गरेको अठोट। छोरी ‘महारानी’लाई पढाएर समाजको कडा घेरा तोड्ने उनको सपना हुन्छ। यही यात्रामा फिल्मले आमा-छोरीको सम्बन्ध, वादी समुदायको पीडा, वर्गीय विभेद र महिलामाथिको सामाजिक अन्यायलाई एकसाथ समेट्ने प्रयास गरेको छ।

तर समस्या यहीँनिर देखिन्छ। फिल्मले उठाउन खोजेका मुद्दाहरू गहिरा छन्, तर पटकथाले तिनलाई पर्याप्त धार दिन सकेको छैन। मधु पात्रको सङ्घर्ष कथामा भनिएजस्तो तीव्र रूपमा महसुस हुँदैन। समाजले अस्वीकार गर्दा उनी कुनै प्रतिरोधमा उभिँदिनन्, बरु पुरानै ठाउँमा फर्किन्छिन्।

नागरिकताको समस्या आउँदा पनि संघर्ष उनको देखिँदैन, बरु वरपरका पुरुष पात्रहरूको निर्णयले समाधान खोज्छ। यसले मधुलाई आफ्नो जीवनको संवाहक (चालक) भन्दा पनि परिस्थितिले बगाइरहेको एउटा कमजोर पात्रजस्तो बनाइदिन्छ।

सबैभन्दा ठुलो विडम्बना के छ भने, महिलाको मुख्य कथा भन्न खोजिएको फिल्ममा पनि निर्णायक क्षणहरू पुरुष पात्रकै हातमा सुम्पिएको छ। नारायणले भाग्ने योजना बनाउँछ, भाइले नागरिकताको बाटो खोलिदिन्छ।

मधु भने अधिकांश समय रोइरहेकी, सहिरहेकी र परिस्थितिसँग हार मानिरहेकी देखिन्छिन्। नेपाली सिनेमाले वर्षौँदेखि दोहोर्‍याइरहेको ‘रुन्चे महिला पात्र’को छाया यहाँ पनि स्पष्ट भेटिन्छ।

तर, कलाकारहरूको सशक्त अभिनयले भने फिल्मलाई धेरै ठाउँमा जोगाएको छ। स्वस्तिमा खड्काले मधुको पीडा, असहायता र ममतालाई निकै स्वाभाविक ढङ्गले पर्दामा उतारेकी छन्।

उनको आँखाभित्रको थकान, बोलीभित्र दबिएको आक्रोश र छोरीप्रतिको माया धेरै दृश्यहरूमा संवादभन्दा बढी बलियो भएर प्रकट भएको छ। विशाल देवकोटाले निभाएको नारायण पात्र पनि उत्तिकै प्रभावशाली छ।

आफ्नो प्रेम र समाजको चक्रव्यूहबीच च्यापिएको एउटा पुरुषको आन्तरिक द्वन्द्व उनले संयमताका साथ प्रस्तुत गरेका छन्। समाजको दबाबका कारण सुरुमा मधुलाई खुलेर स्वीकार गर्न नसकेका नारायण पछि छोरीको भविष्यका लागि लड्ने पात्रमा बदलिन्छन्।

विशेष गरी आफ्नी छोरीलाई पढाउनुपर्छ, उसलाई ‘राजा’को जिम्मा लगाएर बेचिन दिनु हुँदैन भन्ने अडानमा उनी सबैसँग भिड्छन्। कहिले समाजसँग, कहिले राजासँग त कहिले आफ्नै पत्नी मधुसँग उनको टकराव देखिन्छ।

यही संघर्षले नारायण पात्रलाई केवल प्रेमी मात्र नभएर एउटा जिम्मेवार बुबाको उचाइमा पुर्‍याउँछ। फिल्मको अन्तिमतिर मृत्युको मुखसम्म पुगेर उनको भूमिका टुङ्गिन्छ, जसले कथालाई थप भावुक बनाइदिन्छ। विशालले नारायणभित्रको निर्दोषपन, असहायता र साहसलाई सुरुदेखि अन्त्यसम्म समान लयमा बगाएका छन्, जसले यो पात्रलाई दर्शकको मनमा लामो समयसम्म जीवित राख्छ।

यसै गरी ‘राजा’को भूमिकामा देखिएका रवीन्द्रसिंह बानियाँले फिल्ममा गहिरो प्रभाव छाडेका छन्। उनी पर्दामा देखिनेबित्तिकै पात्रभित्रको शक्ति, डर र सामाजिक हैसियत प्रस्ट महसुस हुन्छ।

वादी समुदायमाथि राज्य र सत्ताले कसरी हेर्थ्यो भन्ने कुरा उनको हाउभाउ, संवाद र उपस्थितिले सुन्दर सङ्केत गरेको छ। रवीन्द्रसिंह बानियाँको अभिनयको विशेषता नै पात्रलाई अतिरञ्जित नगरी भित्री दबाबसहित प्रस्तुत गर्नु हो, जुन ‘लालीबजार’मा पनि देखिन्छ।

उनको संवाद बोल्ने शैलीमा कठोरता छ, तर त्यो केवल व्यक्ति मात्र नभएर एउटा दमनकारी संरचनाको प्रतिनिधि जस्तो लाग्छ। विशेष गरी मधुजस्ता पात्रहरूसँगको व्यवहारमा उनले शक्ति र विभेदको मनोविज्ञानलाई स्वाभाविक ढङ्गले उतारेका छन्। बानियाँले आफ्नो अनुभव र अभिनय क्षमताले फिल्मलाई बलियो बनाउने काम गरेका छन्।

फिल्मको अर्को सबल पक्ष यसको दृश्य भाषा (सिनेमाटोग्राफी) हो। फुङ्ग उडेको रङ संयोजन (कलर ग्रेडिङ), पुरानो समयको बनोट र परिवेशले दर्शकलाई वि.सं. २०४५ सालतिर फर्काइदिन्छ।

गीत र पाश्र्वध्वनि (ब्याकग्राउन्ड स्कोर) को प्रयोग पनि जबरजस्ती लाग्दैन। विशेष गरी ‘म प्यार बेचिदिन्छु’ बोलको गीतले कथाको भावनात्मक तहलाई अझ गहिरो बनाइदिन्छ।

तर, फिल्मले वादी समुदायलाई चित्रण गर्दा अपेक्षित संवेदनशीलता भने पूर्ण रूपमा कायम राख्न सकेको छैन। समुदायको वास्तविक पीडा उजागर गर्नुभन्दा पनि कतिपय दृश्यहरूमा व्यावसायिक सिनेमाको मसला र आकर्षण बढी देखिन्छ।

वादी महिलाहरू किन यस्तो अवस्थासम्म पुगे? राज्य कहाँ असफल भयो? वादी समाजको यथार्थ के हो? र समाजले किन उनीहरूलाई सधैँ यही चक्रमा धकेलिरह्यो? फिल्मले यी गम्भीर प्रश्नहरूलाई सतहबाट मात्र छोएर छाडेको छ। यदि यही पक्षलाई अझ गहिरो गरी केलाइएको भए, ‘लालीबजार’ एउटा शक्तिशाली सामाजिक दस्तावेज बन्न सक्थ्यो।

यति कमजोरीका बावजुद पनि फिल्मको अन्तिम भागले दर्शकलाई निकै भावुक बनाउँछ। जब मधु आफ्नी छोरीको भविष्यलाई आफ्नै जीवनभन्दा ठुलो सपना ठान्छिन्, त्यहाँ एउटी आमाको मौन संघर्ष बोल्न थाल्छ।

छोरीले आफूले नपाएको सामाजिक सम्मान पाओस् भन्ने चाहनामा मधुको थकित अनुहारले धेरै कुरा भनिरहेको हुन्छ। त्यो क्षणमा फिल्म केवल वादी समुदायको कथा मात्र रहँदैन, एउटी आमाको त्यागको सार्वभौम कथा बन्छ; र प्रायः यो फिल्म हेर्ने सबैका आँखा रसाउन पुग्छन्।

अन्ततः, ‘लालीबजार’ पूर्ण फिल्म त होइन, तर एउटा महत्त्वपूर्ण फिल्म भने पक्कै हो। यसले समाजमाथि प्रश्न उठाउँछ, केही ठाउँमा चुक्छ त केही ठाउँमा सिधै मन छोएर जान्छ।

विशेष गरी चलचित्रको अन्त्यतिर यसले दर्शकलाई भावनात्मक रूपमा बाँधेर राख्छ, किनकि त्यहाँ एउटी आमाको यस्तो सपना छ, जुन समाजको क्रूर घेराभन्दा धेरै ठुलो र शक्तिशाली देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *