आइसिसी लिग-२: नेपालले अमेरिकालाई दियो विशाल लक्ष्य

डिसी नेपाल
८ जेठ २०८३ १३:५८

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जारी १०९औँ खेलमा घरेलु टोली नेपालले संयुक्त राज्य अमेरिका विरुद्ध विशाल योगफल खडा गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रनको बलियो योगफल तयार पारेको हो। नेपालका लागि ब्याटर इशान पाण्डेले उत्कृष्ट इनिङ्स खेल्दै सर्वाधिक ८४ रनको योगदान दिएपछि अमेरिकाले जितका लागि ३१८ रनको विशाल लक्ष्य पाएको छ।

कीर्तिपुरको ब्याटिङ सहयोगी पिचमा नेपालले सुरुदेखि नै आक्रामक र सन्तुलित ब्याटिङ प्रदर्शन गर्‍यो। ओपनर आसिफ शेख र कुशल भुर्तेलले टोलीलाई ठोस सुरुवात दिलाएका थिए। कुशल भुर्तेलले ३९ बलमा ५ चौका प्रहार गर्दै २९ रन बनाएर आउट भए भने अर्का ओपनर आसिफ शेखले ५७ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ४३ रनको महत्त्वपूर्ण योगदान दिए।

ओपनरहरू आउट भएपछि क्रिजमा आएका इशान पाण्डेले नेपाली इनिङ्सलाई सम्हाल्दै विशाल योगफलतर्फ डोर्‍याए। उनले मात्र ८३ बलमा ८ चौका र १ उत्कृष्ट छक्का प्रहार गर्दै ८४ रनको सानदार इनिङ्स खेले। उनलाई मध्यक्रममा कप्तान रोहित पौडेलले बलियो साथ दिए। कप्तान पौडेलले ५९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ४६ रन बनाए। इशान र रोहितबीच भएको महत्वपूर्ण साझेदारीले नेपाललाई खेलमा बलियो स्थितिमा पुर्‍याएको थियो।

खेलको अन्तिम ओभरहरूमा नेपाली ब्याटरहरूले अमेरिकी बलरहरू विरुद्ध विष्फोटक ब्याटिङ गरे। ‘फिनिसर’ को भूमिकामा उत्रिएका दीपेन्द्रसिंह ऐरीले मात्र ३६ बलमा ४ चौका र ४ गगनचुम्बी छक्का प्रहार गर्दै ५९ रनको आक्रामक अर्धशतकीय इनिङ्स खेले। उनको स्ट्राइक रेट १६३.८९ रह्यो, जसले खेलको गतिलाई पूर्ण रूपमा नेपालको पक्षमा मोड्यो।

त्यस्तै, तल्लो मध्यक्रममा आएका गुलशन झाले १२ बलमा १५ रन बनाए भने खेलको अन्त्यतिर आरिफ शेखले मात्र १० बलमा २ छक्का प्रहार गर्दै अविजित १८ रन जोडे। सोमपाल कामीले ४ बलमा ५ रन र नन्दन यादवले १ बलमा १ रन जोडेपछि नेपाल ३१७ रनको उच्च स्कोरमा पुग्न सफल भयो।

नेपालका ब्याटरहरू हाबी भएको खेलमा अमेरिकी बलरहरू निकै महँगा साबित भए। अमेरिकाका लागि सुभम रञ्जानेले सर्वाधिक विकेट लिए। उनले ९.५ ओभर बलिङ गर्दै ६० रन खर्चेर ३ विकेट चट्काए। त्यसैगरी, मिलिन्द कुमारले ८ ओभरमा ३९ रन दिएर १ विकेट लिए भने रुशिल उगाकरले ९ ओभरमा ८१ रन खर्चिँदै १ विकेट हात पारे।

अमेरिकाका मुख्य र अनुभवी बलर सौरभ नेत्रवाल्कर आजको खेलमा निकै महँगा साबित भए। उनले ९ ओभरमा १ मेडन राखे तापनि कुनै विकेट लिन सकेनन् र ७० रन खर्चिए। नोस्थुस केन्जिगेले ७ ओभरमा कसिलो बलिङ गर्दै मात्र १९ रन दिए पनि विकेट विहीन रहे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *