लखनऊमाथि पञ्जाब किङ्सको ७ विकेटको सानदार जित, प्लेअफको सम्भावना कायमै

डिसी नेपाल
१० जेठ २०८३ ६:३९

काठमाडौं। श्रेयस अय्यरको सानदार अविजित शतकीय इनिङ्सको मद्दतले पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनऊ सुपर जायन्ट्समाथि ७ विकेटको सहज जित दर्ता गरेको छ।

लखनऊको घरेलु मैदानमा शनिबार राति सम्पन्न रोमान्चक खेलमा जितका लागि प्राप्त १ सय ९७ रनको चुनौतीपूर्ण लक्ष्य पञ्जाबले मात्र ३ विकेट गुमाएर १८ ओभरमै पूरा गर्‍यो। पञ्जाबको जितमा नायक बनेका अय्यरले मात्र ५१ बलमा १ सय १ रनको विस्फोटक शतकीय इनिङ्स खेलेपछि उनी खेलको ‘प्लेयर अफ द म्याच’ समेत चुनिए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको लखनऊ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९६ रनको सम्मानजनक योगफल तयार पारेको थियो।

तर, लखनऊका ब्याटरहरूले बनाएको उक्त बलियो योगफल पनि पञ्जाबको आक्रामक ब्याटिङसामु पर्याप्त हुन सकेन। पञ्जाबका ब्याटरहरूले सुरुआतदेखि नै आक्रामक रणनीति अपनाउँदै १२ बल बाँकी छँदै लक्ष्य भेटाएपछि लखनऊ आफ्नै घरेलु मैदानमा स्तब्ध हुन पुगेको हो।

यो महत्त्वपूर्ण जितसँगै पञ्जाबले लिग तालिकामा आफ्नो बलियो उपस्थिति कायम राख्दै प्लेअफको सम्भावनालाई जीवितै राखेको छ। प्लेअफको यात्रा तय गर्नका लागि पञ्जाबले अब राजस्थान र मुम्बई इन्डियन्सबीच हुने आगामी खेलको नतिजामा निर्भर रहनुपर्नेछ।

उक्त खेलमा राजस्थान विजयी भएमा पञ्जाबको आईपीएल यात्रा यहीँ सकिनेछ भने राजस्थान पराजित भएको खण्डमा पञ्जाबले अंक तालिकाको चौथो स्थानमा रहँदै प्लेअफ खेल्ने ऐतिहासिक अवसर पाउनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *