वीरगन्ज नाकाबाट आयात १५ प्रतिशतले बढ्यो, १० महिनामै भित्रियो झन्डै आठ खर्बको सामान
वीरगन्ज। मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार हुँदै वस्तु तथा सामग्रीको आयातमा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनाको अवधिमा यस नाकाबाट सात खर्ब ९४ अर्ब ८७ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ।
यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशत अर्थात् एक खर्ब दुई अर्ब ४४ करोड रुपैयाँले बढी हो। गत आर्थिक वर्षको समीक्षा अवधिमा यो नाका भएर छ खर्ब ९२ अर्ब ४३ करोड रुपैयाँ मूल्यका वस्तुहरू नेपाल भित्रिएका थिए।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार पछिल्लो समय यो नाका भएर हुने आयातको ग्राफ लगातार उकालो लागिरहेको छ। चालु आर्थिक वर्षमा विशेष गरी पेट्रोलियम पदार्थ, फलाम तथा फलामजन्य वस्तुहरूको आयातमा उच्च वृद्धि भएकाले समग्र आयातको आकार बढेको हो।
भन्सारको तथ्यांक अनुसार विगत १० महिनामा मात्रै एक खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरको पाँच थरीका पेट्रोलियम पदार्थ आयात गरिएको छ, जसले आयातको ठूलो हिस्सा ओगटेको छ।
पेट्रोलियम पदार्थबाहेक अन्य औद्योगिक तथा कच्चा पदार्थको आयात पनि उच्च देखिएको छ। सोही अवधिमा ६९ अर्ब ४२ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामग्रीहरू नेपाल भित्रिएका छन्।
यसैगरी मुलुकका विभिन्न उद्योग र विकास निर्माणका लागि आवश्यक पर्ने ५७ अर्ब ६६ करोड रुपैयाँ बराबरको मेसिनरी तथा पार्टपुर्जाहरू आयात भएको भन्सार कार्यालयले जनाएको छ। त्यस्तै चालू वर्षको १० महिनामा ५५ अर्ब सात करोड रुपैयाँ मूल्य बराबरको भटमासको कच्चा तेलसमेत वीरगन्ज नाका हुँदै भित्रिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment