तनावग्रस्त बाजुराको लाम्पाटामा नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन
काठमाडौँ। बाजुरा र हुम्लाको सीमावर्ती क्षेत्रमा पर्ने बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा दुई पक्षबीच सीमा विवादलाई लिएर गम्भीर तनाव सिर्जना भएपछि सो क्षेत्रमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।
सीमाकै विषयलाई लिएर दुई जिल्लाका स्थानीय समूहबीच कुटपिट र झडपको घटना भएलगत्तै स्थिति नियन्त्रणमा लिन र शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको कमाण्डमा १० जनाको विशेष टोली लाम्पाटातर्फ पठाइएको हो।
घटनाको विवरणअनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थलीका स्थानीयहरूको एक उग्र समूहले हिमाली गाउँपालिका–३ का निर्वाचित वडा सदस्य पेमा गारा गुरुङसहित अन्य पाँच जना स्थानीयमाथि एक्कासि आक्रमण र कुटपिट गरेको थियो।
सोही क्रममा ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ भन्ने प्रवर्द्धनात्मक अभियान लिएर सो क्षेत्रको भ्रमणमा पुगेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोलीलाई समेत उक्त समूहले दुर्व्यवहार गर्दै लखेटेको बुझिएको छ।
सीमा क्षेत्रको विवाद र असुरक्षाका कारण जनप्रतिनिधि तथा पर्यटन प्रवर्द्धन टोली नै आक्रमणको निसानामा परेपछि स्थानीय प्रशासनले यसलाई गम्भीरतापूर्वक लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार लाम्पाटाको वर्तमान वस्तुगत स्थिति र सुरक्षा संवेदनशीलतालाई सूक्ष्म रूपमा बुझ्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एक संयुक्त टोलीलाई घटनास्थलतर्फ परिचालन गरिएको छ।
सुरक्षा निकायहरूको उक्त संयुक्त टोलीले सो क्षेत्रमा शान्ति सुव्यवस्था कायम राख्नुका साथै सीमा विवादका कारण उत्पन्न हुनसक्ने थप सम्भावित झडपलाई रोक्न कडा निगरानी सुरु गरिसकेको छ भने घटनाको विस्तृत अनुसन्धान समेत अघि बढाइएको प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment