घुर्ने समस्याबाट हैरान हुनुहुन्छ? औषधी अगाडि अपनाउनुहोस् यी ५ सरल घरेलु उपाय
काठमाडौँ। राती सुतेका बेला घुरेर पार्टनर वा परिवारका अन्य सदस्यको निद्रा बिथोलिएको गुनासो धेरैको घरमा सुनिन्छ। घुर्नु लाई धेरैले गहिरो निद्राको संकेत मान्ने गल्ती गर्छन्, तर वास्तवमा यो त्यस्तो होइन।
चिकित्सा विज्ञानका अनुसार घुर्नु एक सामान्य समस्या जस्तो देखिए पनि यसले अर्को व्यक्तिको निद्रा मात्र बिगार्दैन, बरु यो तपाईंको आफ्नै खराब स्वास्थ्यको प्रारम्भिक संकेत पनि हुन सक्छ।
श्वासनलीमा हावाको बहाव अवरुद्ध हुँदा भित्री तन्तुहरूमा कम्पन आउँछ र घुरघुर आवाज निस्कन्छ। यदि समयमै यसको व्यवस्थापन गरिएन भने यसले ‘स्लिप एप्निया’ जस्तो गम्भीर स्वास्थ्य समस्याको रूप लिन सक्छ, जसले मुटुको रोग र उच्च रक्तचापको जोखिम बढाउँछ।
यदि तपाईं वा तपाईंको पार्टनर यो समस्याबाट पीडित हुनुहुन्छ भने, बजारका महँगा औषधी वा उपकरणको सहारा लिनु अघि आफ्नो जीवनशैलीमा केही साना र सजिलो परिवर्तन गरेर हेर्नुहोस्। यहाँ हामी केही प्रभावकारी घरेलु उपायहरू साझा गर्दैछौँ, जसले तपाईंलाई घुर्ने समस्याबाट छुटकारा पाउन मद्दत गर्नेछन्।
१.सुत्ने तरिका परिवर्तन गर्नुहोस्:
धेरैजसो मानिसहरू उत्तानो परेर (ढाडको भरमा) सुत्ने गर्छन्। यसो गर्दा जिब्रो र घाँटीका मांसपेशीहरू पछाडितर्फ धकेलिन्छन् र श्वासनली बन्द हुन पुग्छ, जसले गर्दा मानिस बढी घुर्छ।
उत्तानो सुत्नुको सट्टा कोल्टे (देब्रे वा दाहिने फर्किएर) सुत्ने बानी बसाल्नुहोस्। कोल्टे सुत्दा श्वासनली खुला रहन्छ र हावा सजिलै आवतजावत गर्न पाउँछ।
२.तौल नियन्त्रणमा राख्नुहोस्:
मोटोपना वा वजन बढी हुनु घुर्ने समस्याको एउटा मुख्य कारण हो। घाँटीको वरिपरि बढी बोसो जम्मा हुँदा त्यसले श्वासनलीलाई सानो बनाउँछ र सुतेका बेला हावा छिर्न गाह्रो हुन्छ।
नियमित व्यायाम र सन्तुलित खानपानको माध्यमबाट आफ्नो तौल नियन्त्रणमा राख्नुहोस्। तौल थोरै मात्र घट्दा पनि घाँटीको बोसो कम भई घुर्ने समस्यामा ठूलो सुधार आउँछ।
३. सुत्नुअघि बाफ लिने गर्नुहोस्:
यदि तपाईंको नाक बन्द हुने, एलर्जी हुने वा पिनासको समस्या छ भने घुर्ने सम्भावना निकै बढ्छ। नाक बन्द हुँदा मानिसले मुखबाट सास फेर्न थाल्छ र घुर्न सुरु हुन्छ।
सुत्नु भन्दा ठीक अगाडि तातो पानीको बाफ लिनुहोस्। यसले नाकको नलीलाई सफा र ओसिलो बनाउँछ, जसले गर्दा श्वासप्रश्वास सहज हुन्छ। बाफ लिँदा पानीमा थोरै पुदिनाको तेल मिसाउनु अझ बढी फाइदाजनक हुन्छ।
४. मदिरा र धुम्रपानबाट टाढै रहनुहोस्:
बेलुकाको समयमा मदिरा सेवन गर्दा घाँटीका मांसपेशीहरू अत्यधिक खुकुलो ९च्भबिह० हुन्छन्। यसले गर्दा श्वासनली झन् बढी थिचिन्छ र मानिस गहिरो गरी घुर्न थाल्छ। त्यस्तै, धुम्रपानले श्वासनलीमा सुजन ९हल्लाउनेरसुन्निने० पैदा गर्छ।
सुत्नु भन्दा कम्तीमा ४ देखि ५ घण्टा अगाडिदेखि नै मदिरा वा कुनै पनि प्रकारका नशालु पदार्थको सेवन नगर्नुहोस्।
५. सिरानीको उचाई बढाउनुहोस् र कोठाको ओसिलोपना मिलाउनुहोस्:
सुत्ने बेला टाउकोको भाग शरीरभन्दा अलिकति माथि हुनुपर्छ। यसका साथै कोठाको हावा एकदमै सुख्खा छ भने त्यसले घाँटी र नाकको भित्री भागलाई सुकाउँछ, जसले कम्पन बढाउँछ।
सुत्दा खेरि टाउकोलाई ४–५ इन्च माथि उठाउन मिल्ने गरी अलि बाक्लो वा दुईवटा सिरानी प्रयोग गर्नुहोस्। सम्भव भए कोठामा ‘ह्युमिडिफाय’ प्रयोग गरेर हावामा ओसिलोपना कायम राख्नुहोस्।
विशेषज्ञको सुझावः यी सामान्य जीवनशैली परिवर्तन र घरेलु उपायहरूले धेरैजसोको घुर्ने समस्या निको हुन्छ। तर, यदि यी उपायहरू अपनाउँदा पनि घुर्न कम भएन, सुतेका बेला अचानक सास रोकिएर ब्युँझिने हुन्छ वा दिनभर अत्यधिक थकाइ र निन्द्रा लाग्छ भने तुरुन्तै चिकित्सकलाई भेटेर ‘स्लिप स्टडी’ गराउनु पर्छ।







डिसी नेपाल







Facebook Comment