हिमालसँग बादलको लुकामारी र ‘रेडपान्डा’को बासस्थान: पर्यटकको नयाँ रोजाइमा म्याग्दीको जलजला

डिसी नेपाल
१३ जेठ २०८३ १०:२८

म्याग्दी। पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली डाँडाकाँडा र पृष्ठभूमिमा लहरै देखिने हिमशृङ्खला।

छिनछिनमा बादल र हिमालबीच चल्ने लुकामारी, शीतल हावापानी अनि शान्त वातावरण-यी विशेषताले गर्दा म्याग्दीको धवलागिरि गाउँपालिका-२ मा पर्ने जलजला क्षेत्र पछिल्लो समय पर्यटकहरूको आकर्षक गन्तव्य बन्न थालेको छ।

समुद्री सतहदेखि ३ हजार ४१४ मिटर उचाइमा रहेको जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल स्पष्ट देखिन्छन्। यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्य निकै मनमोहक हुन्छ। बर्खायाममा पशुगोठ र समथर फाँटको हरियाली तथा वसन्त ऋतुमा लालिगुराँसले राताम्मे हुने जङ्गलले यहाँको सुन्दरता थप बढाउँछ।

दुर्लभ ‘रेडपान्डा’को सुरक्षित बासस्थान

जलजला क्षेत्र केवल प्राकृतिक दृश्यावलोकनका लागि मात्र नभई जैविक विविधताका हिसाबले पनि निकै महत्त्वपूर्ण छ। यो क्षेत्र दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) को प्रमुख बासस्थान हो। सरकारले संकटापन्न सूचीमा राखेको रेडपान्डा यस क्षेत्रमा ६ देखि २५ वटासम्म रहेको अनुमान छ।

जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) ले दातृ निकाय टोलेडोजुको सहयोगमा जलजलामा जडान गरेका तीनवटा क्यामेरामध्ये दुईवटामा रेडपान्डाको तस्बिर कैद भएको थियो।

यसअघि स्थानीयवासीले विसं २०८० असोज, २०८१ मङ्सिर र हालै २०८३ वैशाख ३१ गते मुनाको दहपातल सामुदायिक वन क्षेत्रमा रेडपान्डा भेटिएको तस्बिर तथा भिडियो सार्वजनिक गरेका थिए. रेडपान्डाको उपस्थितिले यस क्षेत्रमा साहसिक पदयात्रा (ट्रेकिङ) गर्न चाहने पर्यटकका लागि नयाँ सम्भावना थपेको छ।

सडक पहुँचले बढायो पर्यटक, बन्यो ढोरपाटनको ‘भ्यू पोइन्ट’

नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षको करिब १३ प्रतिशत भूगोल म्याग्दीमा पर्छ। जलजला क्षेत्र ढोरपाटन आरक्षको उत्कृष्ट ‘भ्यू पोइन्ट’ का रूपमा विकास भइरहेको छ।

६ वर्षदेखि माथिल्लो जलजलामा ‘गोठ स्टे’ सञ्चालन गर्दै आएका स्थानीय फुलबहादुर विकका अनुसार विगतमा ढोरपाटन आउने सीमित पर्यटक मात्र यहाँ पुग्थे।

तर, हालै म्याग्दी-ढोरपाटन र पूर्वी रुकुम जोड्ने सडकको मार्ग (ट्र्याक) खुलेपछि दैनिक १५-२० वटा मोटरसाइकल र ४-५ वटा गाडीमा पर्यटकहरू आउन थालेका छन्।

बेनीदेखि १२२ किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडक गत फागुनमा खुलेसँगै पूर्वी रुकुम र बागलुङको ढोरपाटन घुम्न आउनेहरूले जलजला हुँदै फर्कने रुट बनाउन थालेका छन्।

हाल जलजला पुग्न ढोरपाटनको पाखाथरबाट कच्ची सडकमा जिप वा मोटरसाइकलमा करिब १ घण्टा ३ मिनेट लाग्छ भने धवलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट करिब २ घण्टा लाग्छ। दुवैतर्फबाट पैदल यात्रा गर्दा भने ५ देखि ६ घण्टा समय लाग्छ।

पूर्वाधार निर्माण र ‘चिनौँ जलजला’ अभियान

पर्यटकको संख्या बढेसँगै धवलागिरि गाउँपालिकाले पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनको काम तीव्र पारेको छ। गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार अहिले जलजलामा खानेपानीको व्यवस्था मिलाइएको छ भने शौचालय निर्माण सुरु गरिएको छ।

गाउँपालिकाले यसै हप्ता पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरी ७ बुँदे ‘जलजला घोषणापत्र’ जारी गरेको छ। आरक्ष, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर आश्रयस्थल, पदमार्ग, विद्युत् र सञ्चार सुविधा विस्तार गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए। गाउँपालिकाले ‘चिनौँ जलजला, घुमौँ जलजला’ डिजिटल अभियान समेत सुरु गरेको छ।

बस्तीभन्दा टाढा रहेकाले यहाँ होटलहरू छैनन्। पर्यटकहरूका लागि स्थानीय विकको गोठ नै एकमात्र सहारा हो, जहाँ च्याउ, टुसा, ढकायोको सागको अचार, रैथाने दूध, दही र मासु जस्ता अर्गानिक परिकार (गोठस्टे) को स्वाद लिन पाइन्छ। क्याम्पिङ गर्न चाहनेहरूले भने आफैँ बन्दोबस्तीका सामान लैजानुपर्छ।

मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्ग बन्ने सम्भावना

बेनी-ढोरपाटन-तकसेरा सडक मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा विकास हुने बलियो सम्भावना देखिएको छ। यो नयाँ मार्ग बागलुङ–काँक्री खण्डभन्दा करिब ५० किलोमिटर छोटो छ।

गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीका अनुसार यो सडक खोल्नुको मुख्य उद्देश्य नै जलजलालाई पर्यटकीय गन्तव्य बनाउनु हो। “यो सडक स्तरोन्नति गर्न सके पूर्वी र पश्चिम रुकुम, जाजरकोट र डोल्पाका बासिन्दालाई पोखरा र काठमाडौँ आउजाउ गर्न निकै छोटो र सहज हुनेछ,” उनले भने।

हाल सडकका विभिन्न स्थानमा स्तरोन्नति र खोलाहरूमा मोटर चल्ने पुल बनाउन बाँकी रहे पनि यो मार्गले समग्र क्षेत्रको आन्तरिक पर्यटनमा नयाँ उत्साह थपेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *