रारासँग जोडेर टुरिजम सर्किट बनाउन सकिने सुनखानी गुफा ओझेलमा

डिसी नेपाल
२३ जेठ २०८३ १२:१४

मुगु । मुगुको सोरु गाउँपालिका स्थित माथिलिब्रु गाउँ नजिक एक ऐतिहासिक तथा प्राचीन सुनखानी गुफा छ, प्रचार प्रसार र सरोकारवालाको ध्यान नजाँदा ओझेलमा परेको छ ।

प्राकृतिक सौन्दर्य र पुरातात्त्विक महत्वले भरिपूर्ण भएपनि आवश्यक संरक्षण, प्रवद्र्धन र पूर्वाधारको अभावमा यो पर्यटकीय सुनखानी गुफा ओझेलमा परेको स्थानीयको भनाइ छ ।

गुफाको भित्री संरचना आकर्षक र रहस्यमयी हुनुका साथै यसको ऐतिहासिक पृष्ठभूमि पनि बलियो रहेको स्थानीय राज शाही ठकुरीले जानकारी गराए ।

तर, राज्यका तर्फबाट यसको खोज अनुसन्धान र विकासका लागि कुनै ठोस पहल नहुँदा यो ऐतिहासिक गुफा संकट ओझेलमा रहेको उनको भनाई छ ।

गुफा हुम्ला कर्णालीसम्मै जोडिएको स्थानीयको भनाइ छ । गुफादेखि आधा किमी मुनी हुम्ला कर्णाली रहेको छ । ‘घटकुना भन्ने ठाउँमा एउटा गुफा, त्यो भन्दा माथि सुनखानी गुफा र माथि थलोहाले भन्ने ठाउँमा गरी एउटै लाइनमा तीनवटा प्राचिन गुफा रहेको गुरादेउताको धामी अंगबहादुर शाहीको भनाई छ । गुफाहरू निकै आकर्षण र ऐतिहासिक छ तर पहुँच नहुँदा ओझेलमा रहेको उनको भनाई छ ।

परापूर्वकालमा लिब्रु गाउँका बालबच्चा हराउने गरेको र खोजी गर्दा त्यही सुनखानी गुफा भित्र भेटिने गरेपछि भूतले लैजाने गरेको आशंका गरेपछि गाउँलेले समइजु देउता बच्चा जोगाइ दिन बिन्ती गर्दा उक्त समइजु देउता सोही गुफा भित्र पसेर भूतको नास गरेपछि बच्चा हराउन छोडेको किवंदन्ती छ ।

यातायातको असुविधा र विकट भौगोलिक अवस्थितिका कारण पनि यो गुफासम्म पर्यटकहरू पुग्न सकेका छैनन् । स्थानीय भक्त शाहीले प्रचारप्रसार नहुँदा ओझेलमा परेको गुफा अहिले भेडाबाख्रा ओत लाग्ने ठाउँ जस्तो मात्र बनेको धारणा राखे ।

माथिलिब्रु गाउँबाट उक्त गुफा पुग्न १५ मिनेट समय लाग्ने गरेको छ भने कर्णाली करिडोरबाट करिब एक घण्टा समय लाग्ने गरेको छ ।

गाउँमा यति ठुलो ऐतिहासिक महत्व बोकेको सुनखानी गुफा छ, तर यसको संरक्षण र विकासमा कसैको ध्यान नदिएको लिब्रु गाउँका बुढापाको गुनासो छ ।

‘जिल्लाबाट पनि सडक गाउँमा पुगिसक्यो कर्णाली करिडोर पनि छोएको छ’ लिब्रु गाउँका रनविर शाहीले भने,‘यो ऐतिहासिक सुनखानी गुफा प्रर्बद्धनमा कसैले चासो दिएका छैनन् ।’

‘नामै काफी छ,’ शाहीले भने,‘स्थानीय तह प्रदेश र संघ सरकारले सुनखानीलाई पर्यटकीय रूपमा प्रवद्र्धन गर्न आवश्यक बजेटसहित अनुसन्धान गरी दिनुपर्यो ।’ सरकारले यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरे स्थानीयको आयआर्जनमा ठुलो टेवा पुग्ने आम्दानीको स्रोत वृद्धि हुने पूर्ववडाअध्यक्ष डबल शाही बताउँछन् ।

सोरु गाउँपालिकाको प्राचित गुफालाई मुगुको प्रसिद्ध रारा तालसँग जोडेर एउटा नयाँ पर्यटकीय गन्तव्य (टुरिजम सर्किट) का रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको स्थानीयको भनाई छ ।

गुफाको उचित मर्मत सम्भार, भित्र उज्यालोको व्यवस्था र बाटोको स्तरोन्नति गर्न सके यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने स्थानीयको अपेक्षा छ ।

स्थानीय सरकार र पुरातत्त्व विभागले समयमै यसको ऐतिहासिकता पुष्टि गर्न वैज्ञानिक अनुसन्धान अगाडि बढाउनु पर्ने लिब्रु गाउँका स्थानीयको माग छ । अहिले लिब्रु गाउँका राज शाही ठकुरीको पहलमा गुफामा पुगेर भिडियो फोटो खिचेर प्रचार गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *