दलहरूबीच सहमति नजुट्दा प्रतिनिधिसभा बैठक अन्योलमा

डिसी नेपाल
२७ जेठ २०८३ १२:३५

काठमाडौं। आज बिहान ११:०० बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्षी र विपक्षी दलहरूको लगातारको विरोधका कारण अझै सुरु हुन सकेको छैन।

प्रधानमन्त्री वालेन्द्र शाहको हालैको नेपाल-भारत सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले साझा रणनीति बनाई विरोध जनाएपछि संसद् सुचारु हुन नसकेको हो।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सदनको गतिरोध अन्त्य गरी बैठक सञ्चालन गर्नका लागि सहमतिको प्रयास जारी रहेकाले कारबाही सुरु हुन विलम्ब भएको हो।

अवरोध खुलाउने उद्देश्यका साथ सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरूसँग निरन्तर संवाद र सहमतिको प्रयास अघि बढाएका छन्।

विपक्षी दलहरूले प्रधानमन्त्री शाहले जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा कूटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिएको आरोप लगाएका छन्।

उनीहरूले राष्ट्रिय सार्वभौमिकतामा आँच पुर्‍याउने खालको उक्त विवादित अभिव्यक्तिलाई संसद्को अभिलेख (रेकर्ड) बाट हटाउनुपर्ने र यसबारे प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने अडान राख्दै आएका छन्।

विपक्षीको यही अडान र आन्तरिक छलफलका कारण सांसदहरू नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठकको पर्खाइमा रहे पनि बैठकको औपचारिक कारबाही अगाडि बढ्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *