सिंहदरबारमै सरकारी निवास: मन्त्रालयको कार्यकक्षमै सरे मन्त्री महावीर पुन
काठमाडौं। नेपाल सरकारको पछिल्लो कार्यविभाजन र पुर्नसंरचनासँगै अस्तित्वमा आएको नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले आफ्नो संस्थागत र नीतिगत कामहरू द्रुत गतिमा अगाडि बढाएको छ।
साविकको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान र प्रविधिलाई अलग गरी ‘नवप्रवर्तन’ शब्द थपेर स्थापना गरिएको यस नयाँ मन्त्रालयको राजनीतिक नेतृत्व स्वतन्त्र सांसद महावीर पुनले मंगलबारदेखि सम्हालेका हुन्।
मन्त्री पुनसँगै मन्त्रालयको प्रशासनिक कमान्ड सम्हाल्न इञ्जिनियरिङ सेवाकी प्रमिला बज्राचार्यले केही दिनअघि मात्रै सचिवको रूपमा जिम्मेवारी पाएका थिए।
हाल यस मन्त्रालयले सिंहदरबारभित्र रहेको साविकको युवा तथा खेलकुद मन्त्रालयको कार्यालयबाट आफ्नो दैनिक कार्यसम्पादन तथा प्रशासनिक गतिविधिहरू औपचारिक रूपमा सुरु गरिसकेको छ।
नयाँ मन्त्रालय भएकाले सबै संरचनाहरू शून्यबाटै खडा गर्नुपर्ने चुनौतीका बीच मन्त्री पुनले पदबहाली गरेलगत्तै मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने पहिलो निर्णय गरेका थिए।
मन्त्रालयकी सचिव बज्राचार्यका अनुसार मन्त्री पुनको भिजन अनुसार नै टोलीले प्रारम्भिक चरणका कामहरू तीव्र गतिमा गरिरहेको छ। मन्त्रालयको डिजिटल पहिचानका लागि वेबसाइटको नमुना (टेम्प्लेट) तयार गरी सूचना प्रविधि विभागलाई उपलब्ध गराइसकिएको र प्राविधिक प्रणालीका कारण आगामी ७२ घण्टाभित्र मन्त्रालयको आधिकारिक वेबसाइट सञ्चालनमा आउने जानकारी दिइएको छ।
नवनिर्मित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा हाल स्वीकृत दरबन्दी अनुसार २४ जना कर्मचारीहरू कार्यरत रहेर प्रारम्भिक गृहकार्य गरिरहेका छन्।
मन्त्रालयको नयाँ संगठन संरचना र कार्यक्षेत्रको पूर्ण प्रतिवेदन तयार भइसकेपछि कर्मचारीहरूको दरबन्दी संख्या थपिने र कार्यविभाजन विस्तृत हुने जनाइएको छ।
यसैबीच, मन्त्रालयको कामलाई थप प्रभावकारी बनाउन र समयको बचत गर्न भन्दै मन्त्री महावीर पुन मन्त्रालयको कार्यकक्षमै आफ्नो सरकारी निवास कायम गर्ने गरी आजैदेखि सिंहदरबारमा सरेका छन्।
देशमा वैज्ञानिक अनुसन्धान, प्रविधिको विकास र नवप्रवर्तन (इन्नोभेसन) लाई संस्थागत रूपमा अगाडि बढाउन यो मन्त्रालयको स्थापना र यसको नयाँ कार्यशैलीलाई आम नागरिकले निकै चासोका साथ हेरेका छन्।







डिसी नेपाल







Facebook Comment