सुर्खेतमा जसपा नेपालको क्षेत्रीय भेला, संगठन सुदृढीकरण र निर्वाचनको समीक्षा

डिसी नेपाल
२७ जेठ २०८३ १६:५४

सुर्खेत। जनता समाजवादी पार्टी नेपालको कर्णाली प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। पार्टीको सांगठनिक अवस्था, गत निर्वाचनको समीक्षा र आगामी राजनीतिक कार्यदिशा तय गर्न भेला आयोजना गरिएको थियो।

जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले भेलालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै कर्णालीको आर्थिक-सामाजिक रूपान्तरण र पहिचानको मुद्दा पार्टीको मुख्य प्राथमिकतामा रहेको बताए। वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई जगैदेखि बलियो बनाउन आवश्यक रहेको औंल्याउँदै उनले उत्पीडित वर्ग र पिछडिएको क्षेत्रको अधिकार सुनिश्चित गर्न कार्यकर्ताहरूलाई गाउँगाउँ पुगेर संगठन निर्माणमा लाग्न निर्देशन दिए।

कर्णाली प्रदेश इन्चार्ज बलबिर नेपालीले कर्णाली भौगोलिक रूपमा विकट भए पनि राजनीतिक चेतनाका हिसाबले अग्रणी रहेको चर्चा गर्दै पार्टीका नीति र एजेन्डाहरूलाई जनताको माझमा लैजान ठोस कार्ययोजना बनाउनुपर्नेमा जोड दिए। केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेले पार्टीभित्र आन्तरिक एकता, अनुशासन र सक्रियता बढाएर मात्र आगामी राजनीतिक चुनौतीहरूको सामना गर्न सकिने विचार व्यक्त गरिन्।

त्यस्तै, केन्द्रीय सदस्य लिला सिजापतीले संगठनलाई जीवन्त राख्न तल्लो तहका कार्यकर्ता र जनतासँगको संवादलाई निरन्तरता दिनुपर्ने धारणा राखिन्।

जसपा नेपाल कर्णाली प्रदेश समितिका अध्यक्ष रगबिर मिजारको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रदेशका विभिन्न जिल्लाबाट आएका अगुवा कार्यकर्ताहरूले स्थानीय स्तरको सांगठनिक अवस्था, चुनौती र आगामी रणनीतिबारे सुझाव दिएका थिए। प्रादेशिक नेतृत्वले ती सुझावहरूलाई समेटेर कर्णालीमा जसपालाई थप प्रभावकारी शक्तिको रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएको छ। भेलामा पार्टीको केन्द्रीय तथा प्रादेशिक नेतृत्वको बाक्लो उपस्थिति थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *