टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

डिसी नेपाल
२७ जेठ २०८३ २२:१०

वालिङ (स्याङ्जा) । स्याङ्जाको चापाकोट–४ पुम्दीमा आज साँझ टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी म्याग्दीको मालिका गाउँपालिका–५ का २३ वर्षीय तिलक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

साँझ ६ः०० बजे टिपर दुर्घटना हुँदा घाइते भएका परियारलाई उपचारकालागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही टिपरमा रहेका म्याग्दीकै मालिका–५ का १८ वर्षीय करन परियार घाइते भएका छन्। उनको हात र खुट्टामा सामान्य चोट लागेको छ। उनको गह्रौँ प्राथमिक अस्पतालमै उपचार भइरहेको छ।

चापाकोट–४ मल्याङकोटबाट सोही वडाको घुर्लीचौर जाने सडक निर्माणलागि बालुवा बोकेर जाँदै थियो। ग१क ४४४६ नम्बरको टिपर उकालो बाटो चिप्लो भई सडकबाट झण्डै १०० मिटर तल खसेको सूचना अधिकारी अवस्थीले जानकारी दिए। घटनास्थलबाट टिपर चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक अवस्थीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *