भीमफेदीमा जीप दुर्घटना: फास्ट ट्र्याकका इन्जिनियर र चालकको मृत्यु

डिसी नेपाल
२८ जेठ २०८३ १०:१६

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमारस्थित भित्री सडक खण्डमा गए राति एक पिकअप जीप दुर्घटना हुँदा इन्जिनियरसहित दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा निजगढ-काठमाडौँ द्रुतमार्ग (फास्ट ट्र्याक) मा कार्यरत इन्जिनियर सूर्य यादव र सवारी चालक बोधराज बुढाथोकी रहेका छन्। इन्जिनियर यादव बारा जिल्ला पचरौता नगरपालिका-७ का बासिन्दा हुन् भने चालक बुढाथोकी सिन्धुली जिल्ला कमलामाई नगरपालिका-९ का हुन्।

प्रहरीका अनुसार काठमाडौँ दक्षिणकालीबाट करिब ३५ किलोमिटर दक्षिणमा पर्ने माण्डु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको उक्त जीप अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खसेको थियो।

दुर्घटनाको जानकारी पाउनासाथ निजगढ-काठमाडौँ द्रुतमार्गको बेस क्याम्पमा खटिएका नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर उद्धार कार्य गरेको थियो। उद्धार टोलीले दुवै जनालाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएको भए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घटनाको पुष्टि गर्दै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *