घाँस आम्दानीको राम्रो स्रोत
देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका छन्।
घाँस छरेपछि गोडमेल र अन्य काम गर्न नपर्ने भएकाले किसानहरु घाँसखेतीमा आर्कषित भएका हुन्। देउखुरीमा १८० घरपरिवारले घाँसखेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले बताए।
जोत्न, मल हाल्नु नपर्ने तथा लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउँछन्। घोराही–६ मा विसं २०५६ देखि नै व्यावसायिक रूपमा घाँसखेती सुरु भएको थियो। घोराही उपमहानगरपालिका–६ गुरुवागाँउका श्याम चौधरीले १५ कट्ठा जमिनमा वरर्सिम घाँसखेती गरेका छन्।
वर्सिम घाँसले गाईवस्तु पाल्न सजिलो भएको उनी बताउँछन्। हरियो हुँदा घाँस काटेर गाईवस्तुलाई खुवाउने र दानालाई बीउका रुपमा बेच्दा दोहोरो आम्दानी हुन थालेपछि श्याम चौधरी घाँसखेतीतर्फ आर्कषित भएका हुन्।
पहिले तोरी, गहुँ र मसुरोखेती गर्ने उक्त जग्गामा अहिले वरर्सिम घाँस लगाउन सुरु गरिएको छ। गतवर्ष रु ७५ हजारको वर्सिम घाँस बेचेका श्यामले यसवर्ष रु एक लाख १८ हजारको वरर्सिमको दाना बिक्री गरेका छन्। घोराही–६ का सुशीला बुढामगरले ११ कट्ठा खेतमा वर्सिम घाँसखेती गरेका छन्।
घाँस छरेपछि गोडमेल र स्याहार्ने झन्झट नभएकाले घाँसखेतीमा आकर्षण भएको उनले बताए। गाईभैँसी, भेडा, बाख्रा र कुखुरालाई यस घाँसले फाइदा पुर्याँउछ। उनले घाँसको दाना बिक्री गरेर रु एक लाख ६० हजार आम्दानी भएको बताए।
सोही वडाकी भूमिसरा पुनले एक बिघा खेतमा वर्सिम घाँसखेती गर्नुभएको छ। पुनले रु दुई लाखको वरर्सिम घाँसको बीउ बिक्री गरेको बताए। धानभन्दा धेरै आम्दानी भयो। त्यसैले घाँसखेती गरेकी छु भने। धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै यो घाँसको बीउ छर्ने गरिन्छ। घाँस उम्रदा धान काटिसकेको हुनुपर्छ। कसैले यसलाई खेत जोतेर छर्ने गरेका छन्।
घोराही–६ का कृषकले ११ कट्ठादेखि दुई बिघासम्ममा वर्सिम घाँसखेती गरेको पाइन्छ। घाँसको उत्पादन राम्रो भएपछि घाँसको बीउको लागि देउखुरीको गुरुवागाँउलाई पकेट क्षेत्र घोषणा गरी बीउ उत्पादन गरिँदै आएको छ। वर्सिम घाँसलाई घाँसको राजाका रुपमा लिने गरिन्छ। यो घाँस गाईभैँसी, बाख्रा, कुखुराले राम्रो मानेर खाने गर्छन्।
जिल्लामा गाईभैँसी र बाख्राको व्यावसायिक पालन बढ्दै गएपछि आर्थिक आयका लागि किसानहरूले घाँस मात्रै खेती गर्ने गरेको घोराही उपमहानगरपालिका कृषि शाखा प्रमुख खीमबहादुर बस्नेतले बताए। पछिल्लो समय दाङ घाँसको बीउ पकेटको क्षेत्रका रुपमा विकसित हुँदै गएको छ।







डिसी नेपाल







Facebook Comment