स्याङ्जामा ट्रिपर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

डिसी नेपाल
२८ जेठ २०८३ १७:३०

स्याङ्जा। स्याङ्जाको चापाकोट नगरपालिका–४ मल्याङकोटमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सडक निर्माणका लागि बालुवा बोकेर जाँदै गरेको ट्रिपर उकालोमा चिप्लिएर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

बुधबार साँझ चापाकोट–४ पुम्दीस्थित मल्याङकोटबाट घुर्लीचौरतर्फ जाँदै गरेको ग १ क ४४४६ नम्बरको ट्रिपर उकालो सडकमा चिप्लिँदा सडकबाट करिब एक सय मिटर तल खसेको थियो।

दुर्घटनामा परी ट्रिपरमा सवार म्याग्दीको मालिका गाउँपालिका–५ निवासी २३ वर्षीय तिलक परियार गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

यसैगरी, सोही दुर्घटनामा परी म्याग्दीकै १८ वर्षीय करण परियार घाइते भएका छन्। उनको हात र खुट्टामा चोट लागेको र हाल स्वास्थ्य केन्द्रमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रिपर चालक दाङको शान्तिनगर गाउँपालिका–१ निवासी २६ वर्षीय रेशमबहादुर गिरी फरार छन्। उनको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *