हुरीले टीकापुरमा केराखेती नष्ट

डिसी नेपाल
२८ जेठ २०८३ १७:४०
टीकापुर।  बुधबार हुरीसँगैको मूसलधारे वर्षाले कैलालीमा दुई बिघामा गरिएको  केराखेती झन्डै  ६० प्रतिशत नष्ट भएको  छ।
टीकापुर २ कोठारपुरका जनक चौधरीको खेतमा लगाइका केरा दुई महिनापछि बजार लैजानका लागि तयारी अवस्थामा थिए। एकै दिनको विपद्ले करिब रु १४ लाख क्षति पुगेको चौधरीले बताए।
त्यसैगरी सोही दिनको विपद्ले टीकापुर ७, सत्तीका केरा किसान कृत ठकुल्लाको बारीमा करिब १०० बोट केरा हुरीले ढालेको छ। पाँच बिघामा केराखेती गर्नुभएका ठकुल्लाले यसवर्ष थप चार बिघामा खेती गरेका थिए।
‘‘बारीमा गनेको छैन, सयौँ बोट नष्ट भएका छन्’’, उनले भने, ‘‘हुरी र असिनासहित आएको पानीले केरा किसानलाई पीडामा पार्‍यो।’’
टीकापुर नगरपालिका–५ का किसान शेरबहादुर साउदको बारीमा हावाहुरीले क्षति पुगाएको छ। ‘‘बारीमा केरा ढलेका छन्, गन्न थालेमा तनाव हुन्छ’’, उनले भने, ‘‘मजस्ता सयौँ किसानलाई आज पीडा भएको छ। केरा किसानले उत्पादन लिने बेलामा नोक्सानी बेहोर्नुपरेको छ।’’
टीकापुरमा केरा किसानको बालीमा हुरीले क्षति गरेको गुनासो धेरै आएकाले वडास्तरमा तथ्याङ्क सङ्कलन कार्य सुरु गरिएको टीकापुर नगरपालिका कृषि शाखा प्रमुख मोतिसिंह विकले बताए।
‘‘धेरै किसानले फोन गरिरहनुभएको छ। ठूलो क्षति भएको छ’’, उनी भन्छन्, ‘‘क्षतिको विवरण थाह पाउनका लागि वडावडामा तथ्याङ्क सङ्कलन कार्य सुरु गरेका छौँ।’’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *