तापक्रम ह्वात्तै घट्यो, ठाउँठाउँमा भारी वर्षा
काठमाडौं। मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले तापक्रम ह्वात्तै घटेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशमा सबैभन्दा उच्च तापक्रम भैरहवामा ३२.६ र धनगढीमा ३२.३ डिग्री रहेको छ। तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ।
अन्य जिल्लामा त्योभन्दा कम नै तापक्रम रहेको छ। तीन दिन अघि केही जिल्लामा ४१ डिग्री नाघेको तापक्रम आज घटेको हो। यसैबीच आज पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा भारी वर्षा भएको छ। विभागका अनुसार धनुषा महोत्तरी, बारा, मोरङ, मकवानपुर, नवलपरासी पूर्व, तनहुँलगायत जिल्लाका केही मापन केन्द्रमा भारी वर्षा मापन भएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाचले आज साँझ जारी गरेको बुलेटिनअनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।
विभागका सूचना अधिकारी दिनकर कार्यस्थका अनुसार जेठ २९ गते शुक्रबार कोशी, मधेश र बागमती प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्ने जनाइएको छ।
कोशी र मधेश प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू तथा बागमती, सोही कारण गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको जनाइएको छ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ।







डिसी नेपाल







Facebook Comment