१५औं महाधिवेशन सफल बनाउन कांग्रेसका सबै पक्षबीच एकता आवश्यक : बिमलेन्द्र निधि
जनकपुर। नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन्।
नेपाली कांग्रेसका देउवा पक्षले आज जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वउपसभापतिसमेत रहेका नेता निधिले कांग्रेसमा पक्ष विपक्षबीच एकता हुन आवश्यक रहेकोमा जोड दिए। उनले १५ औं महाधिवेशनका निम्ति विशेष महाधिवेशन पक्षधर र सो अधिवेशनमा भाग नलिएकाहरुबीच एकता हुनुपर्ने उल्लेख गरे। पार्टी भित्र गुट उपगुट, पक्ष बिपक्ष गर्नुको साटो एकताको माध्यमबाट दुबै पक्ष मिलेर जानुपर्नेमा नेता निधिले जोड दिए।
नेता निधिले महाधिवेशनका निम्ति क्रियाशिल सदस्यता आवश्यक भएतापनि एकतर्फी रुपमा नामावली तयार गर्नु अनुचित रहेको धारणा राखे। उनले विगतमा क्रियाशिल सदस्यताको नामावली तयार भइसकेकोले सोही नामावलीलाई नै मान्यता दिनुपर्ने बताए। क्रियाशिल सदस्यता नविकरणको नाममा अहिले पार्टीका एक पक्षले धाँधली गर्ने दुराशयका साथ अद्य्यावधिक गर्दै हिँडेको गुनासो गरे।
१५ औं महाधिवेशन सफल पार्नका निम्ति नेता निधिले १४ औं महाधिवेशन र विशेष महाधिवेशनका केन्द्रिय समितिलाई एक बनाएर अगाडि बढ्नुपर्ने बताए। उनले क्रियाशिल सदस्यता छानबीन समिति, निर्वाचन समिति र अनुशासन समिति सहमतीको आधारमा गठन गरेर महाधिवेशनको प्रक्रिया अगाडि बढाउनु पर्ने प्रस्ताव राखे।
नेता निधिले भातृसंगठन, सुभेच्छुक संगठनहरुलाई पुनः गठन गर्नुपर्नेमा जोड दिए। उनले अनावश्यक प्रतिशिधका साथ पार्टी संचालन गर्न नखोज्न नेपाली कांग्रेसको गगन पक्षलाई चेतावनी दिए। राजनीतिक रुपमा कांग्रेसभित्र एकताको आवश्यक रहेको भन्दै नेता निधिले सहमतीमै महाधिवेशन सम्पन्न गर्नु नै एक मात्र विकल्प रहेको बताए।







डिसी नेपाल







Facebook Comment