फिफा विश्वकप २०२६

नेयमार बिना उत्रिएको ब्राजिललाई मोरक्कोको कडा धक्का, विश्वकपको पहिलो खेलमै बराबरी

डिसी नेपाल
३१ जेठ २०८३ ६:३५

काठमाडौं। पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै अफ्रिकन पावरहाउस मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको छ।

न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार बिहान भएको समूह ‘सी’ को निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अंक बाँडेका हुन्। छैटौँ पटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिएको ब्राजिलका लागि यो खेल मिश्रित सुरुवात जस्तै बनेको छ।

यस बराबरीसँगै ब्राजिलले विश्वकपको पहिलो खेलमा जित निकाल्न नसकेको आठ वर्षपछि यो पहिलो पटक हो। यसअघि सन् २०१८ को विश्वकपमा ब्राजिल आफ्नो पहिलो खेलमा स्विटजरल्यान्डसँग १-१ गोलकै बराबरीमा रोकिएको थियो।

यद्यपि, मोरक्कोसँगको यो नतिजाले ब्राजिलको एउटा ऐतिहासिक कीर्तिमानलाई भने निरन्तरता दिएको छ। सन् १९३४ को दोस्रो विश्वकपमा स्पेनसँग पराजित भएयता ब्राजिल विश्वकपको आफ्नो पहिलो खेलमा कहिल्यै हारेको छैन।

मोरक्कोविरुद्धको खेलसँगै ब्राजिलले विश्वकपको पहिलो खेलमा आफ्नो अपराजित यात्रालाई २१ खेलसम्म लम्ब्याउन सफल भएको छ। यो अवधिमा ब्राजिलले १७ खेलमा जित हात पारेको छ भने ४ खेल बराबरीमा टुङ्ग्याएको छ।

न्युजर्सीको मैदानमा दुवै टोलीले पहिलो हाफमै गोल गरेका थिए। खेलको सुरुवाती समयदेखि नै दक्षिण अमेरिकी जादुगर ब्राजिललाई दबाबमा राखेको मोरक्कोले २१ औँ मिनेटमा अग्रता लिएको थियो।

स्टार खेलाडी ब्राहिम डियाजको उत्कृष्ट पासलाई सदुपयोग गर्दै पीएसभी आइन्डोभेनका फरवार्ड इस्माइल साइबारीले चलाखीपूर्ण ‘स्कुप’ सटमार्फत ब्राजिलका गोलकिपर एलिसन बेकरलाई चकित पार्दै टोलीलाई अगाडि बढाएका थिए।

तर मोरक्कोको त्यो खुसी धेरै समय टिक्न पाएन। खेलको ३२ औँ मिनेटमा ब्रुनो गुइमारेसको उत्कृष्ट पासमा ब्राजिलका स्टार विनेसियस जुनियरले मोरक्कोका डिफेन्डरहरूलाई बिट गर्दै सानदार गोल गरे र खेललाई १–१ को बराबरीमा ल्याए।

पहिलो हाफ रोचक र तीव्र गतिको भए पनि दोस्रो हाफमा खेल केही सुस्त देखिएको थियो। ब्राजिलको इतिहासमै पहिलो विदेशी प्रशिक्षकका रूपमा टोली सम्हालेका इटालियन रणनीतिकार कार्लो अन्सेलोटीका लागि यो पहिलो ठुलो र चुनौतीपूर्ण परीक्षा थियो।

घाइते भएका कारण टोलीका मुख्य स्ट्राइकर नेयमार बिना नै मैदान उत्रिएको ब्राजिलको खेल हेर्न रङ्गशालामा पूर्व महान् खेलाडीहरू रोनाल्डो, रोबर्टो कार्लोस र काका समेत उपस्थित थिए। दोस्रो हाफमा ब्राजिलका लुकास पाक्वेटा, राफिन्हा र डानिलोले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सन् २०२२ को विश्वकप सेमिफाइनलिस्ट मोरक्कोका गोलकिपर यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै ब्राजिलको जितको बाटो छेकिदिए।

खेलको अन्तिम क्षणमा मोरक्कोले पनि खेल जित्ने सुनौलो मौका पाएको थियो, तर ब्राजिलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको सङ्कट टारे।

यो बराबरीपछि समूह ‘सी’ मा रहेका ब्राजिल र मोरक्को दुवैले समान १-१ अंक जोडेका छन्। अब ब्राजिलले आफ्नो दोस्रो खेलमा तुलनात्मक रूपमा कमजोर मानिएको हाइटीको सामना गर्नेछ भने मोरक्कोले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। यसै समूह अन्तर्गत आइतबारको अर्को खेल स्कटल्यान्ड र हाइटीबिच हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *