मेसीको कीर्तिमानी २००औं खेलमा सानदार गोल: साविक विजेता अर्जेन्टिनालाई सुरुवाती अग्रता

डिसी नेपाल
३ असार २०८३ ७:५५

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलमा कप्तान लियोनेल मेसीको उत्कृष्ट गोलको मद्दतले अर्जेन्टिनाले अल्जेरियाविरुद्ध पहिलो हाफमा अग्रता बनाउन सफल भएको हो।

खेलको १७ औँ मिनेटमा मैदान उत्रिएसँगै मेसीले अर्जेन्टिनाका लागि २०० औँ अन्तर्राष्ट्रिय खेल खेल्ने ऐतिहासिक कीर्तिमान रचेका छन्। आफ्नो खेलजीवनको यो विशेष कोसेढुङ्गालाई उनले उत्तिकै लोभलाग्दो गोलमार्फत अझ अविस्मरणीय बनाए।

खेलका क्रममा रोड्रिगो डे पउलको सटिक पासलाई नियन्त्रणमा लिँदै मेसीले मैदानको मध्यभागबाट एक्लै बल अगाडि बढाएका थिए। उनले पेनाल्टी बक्सभन्दा बाहिर करिब २५ यार्डको दूरीबाट प्रहार गरेको शक्तिशाली सटलाई अल्जेरियाका गोलरक्षक लुका जिदानले रोक्ने अथक प्रयास गरे पनि बलले जाली चुमेको थियो।

यस सानदार गोलसँगै मेसीको अन्तर्राष्ट्रिय गोल सङ्ख्या ११८ पुगेको छ भने विश्वकप इतिहासमा यो उनको १४ औँ गोल हो। गोल गरेपछि मेसीले आफ्नो पहिलो विश्वकप गोलको जस्तै उमङ्ग र बडी ल्याङ्ग्वेजका साथ मैदानमा उत्सव मनाएका थिए।

त्यसअघि, अल्जेरियाले खेलको सुरुवाती समयमा अर्जेन्टिनामाथि निकै कडा दबाब सिर्जना गर्दै केही राम्रा अवसरहरू बनाएको थियो। अल्जेरियाका आक्रामक खेलाडी फारेस चेइबीले खेलको सुरुमै बललाई पोस्टको दिशा दिए पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले त्यसलाई अफसाइड घोषित गरिदिएपछि अल्जेरिया अग्रता लिनबाट चुकेको थियो।

त्यसलगत्तै चेइबीले नै कठिन कोणबाट प्रहार गरेको अर्को उत्कृष्ट सटलाई अर्जेन्टिनाका भरपर्दा गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए। सोही कर्नर अवसरमा चेइबीको हेड प्रहार पोस्टको थोरै बाहिरबाट कर्नडातर्फ गएको थियो। अल्जेरियाको सुरुवाती संकटलाई टार्दै अन्ततः मेसीकै जादुमयी गोलले खेलमा अर्जेन्टिनाको पकड बलियो बनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *