नागढुंगा-नौबिसे सुरुङमार्ग साउनदेखि सञ्चालनमा आउने: परीक्षण तीव्र, यस्तो छ गुड्ने सवारीको शुल्क

डिसी नेपाल
३ असार २०८३ ८:०५

काठमाडौं। नेपालको बहुप्रतिक्षित नागढुंगा-नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि व्यावसायिक रूपमा सवारीसाधन सञ्चालनका लागि खुला गरिने भएको छ। यो सुरुङमार्ग सञ्चालनमा आएसँगै नौबिसे-नागढुंगा सडकखण्डमा वर्षौँदेखि हुँदै आएको सवारी जाम र आउजाउको सास्ती धेरै हदसम्म कम हुने अपेक्षा गरिएको छ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार आगामी साउनभित्रै सुरुङमार्ग सञ्चालन गर्ने गरी हाल आन्तरिक तयारी तथा आवश्यक परीक्षणका कामहरू तीव्र पारिएको छ।

सुरुङमार्गभित्रका सबैजसो प्राविधिक कामहरू सकिइसकेका छन्। हाल सुरुङभित्र हुनसक्ने सम्भावित आकस्मिक दुर्घटना, उद्धार कार्य र सवारी व्यवस्थापनका विषयमा विभिन्न नक्कली अभ्यास (मकट्रायल) र परीक्षण भइरहेका छन्।

अहिले सुरुङमार्ग बाहिरको पहिरो रोकथामको काम मात्र बाँकी रहेको आयोजनाले जनाएको छ। कुल २ हजार ६८८ मिटर लम्बाइ रहेको यो सुरुङमार्ग सुरुआती ठेक्का सम्झौताअनुसार २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारण निर्माण कार्य लम्बिएको हो।

सुरुङमार्ग उपयोग गरेबापत सवारीसाधनले तिर्नुपर्ने दस्तुर (टोल) संकलनका लागि बैंक छनोट र स्मार्ट कार्ड छाप्ने प्रक्रियासमेत अघि बढिसकेको छ। सुरुङमार्गमा गुड्ने सवारीसाधनका लागि तीन तरिकाबाट भुक्तानी गर्न मिल्ने प्रविधि जडान गरिएको छ, जसमा नगदै दिने ‘म्यानुअल’ व्यवस्था, ‘क्यूआर कोड’ स्कानिङ र सवारीसाधनमा टाँसिने स्टिकरलाई उच्च क्षमताको क्यामेरामार्फत रिड गरेर भुक्तानी गर्ने स्वचालित प्रणाली रहेका छन्।

बोलपत्रमार्फत युसिन एआरटी कम्पनीले १ अर्ब १० करोड रुपैयाँको लागतमा ५ वर्षका लागि यसको सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारको जिम्मेवारी पाएको छ। यो कम्पनीले वर्षको ३६५ दिन नै चौबिसै घण्टा सेवा दिनेछ भने सुरुङमार्ग व्यवस्थापनका लागि कुल १५० जना जनशक्ति खटाइनेछ।

काठमाडौँ भित्रिने र बाहिरिने नागढुङ्गा–नौबिसे नाका हुँदै दैनिक औसतमा दुई पाङ्ग्रेबाहेक करिब ८ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन गुड्ने गर्छन्। तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले यो सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको छ। यद्यपि, सुरक्षाका कारण यो सुरुङमार्गमा दुई पाङ्ग्रे (मोटरसाइकल र स्कुटर) सवारीसाधनलाई भने चलाउन पाइने छैन। सवारीसाधनबाट सङ्कलन भएको दस्तुर रकम व्यवस्थापक कम्पनीले सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ।

यस्तो छ सुरुङमार्गको प्रयोग गर्दा लाग्ने शुल्क

सरकारले विसं २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरेर नागढुङ्गा–नौबिसे सुरुङमार्गको शुल्क निर्धारण गरिसकेको छ। सवारीसाधनको क्षमताअनुसार छुट्टाछुट्टै दस्तुर तय गरिएको छ।

कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ। मिनीबस, मिनी टिपर र मिनी ट्रकका लागि काठमाडौँ भित्रिँदा १२५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ दस्तुर लाग्नेछ।

त्यसैगरी, ठूला बस र ट्रक (सिङ्गल रियर एक्सल) का लागि काठमाडौँ प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। मल्टिएक्सल ट्रक, ठूला सवारीसाधन तथा भारी उपकरण (हेभी इक्विपमेन्ट) का लागि भने काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौँबाट बाहिरिँदा २५० रुपैयाँ दस्तुर तिर्नुपर्नेछ। असार महिनाभित्र सबै खालका प्राविधिक तयारी पूरा गरेर साउनको पहिलो सातादेखि नै सवारीसाधन गुडाउने मुख्य लक्ष्य राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *