रोनाल्डोको निराशाजनक प्रदर्शन : कंगोसँगको खेल अवधिभर २५ पटक मात्र बल छोए

डिसी नेपाल
४ असार २०८३ १०:४६

काठमाडौं। पोर्चुगलका भेट्रान कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा निराशाजनक प्रदर्शन गरेका छन्। अफ्रिकी राष्ट्र डिआर कंगाेसँग १-१ गोलको अप्रत्याशित बराबरीमा टुंगिएको खेल अवधिभर रोनाल्डोले जम्मा २५ पटक मात्र बल छुन सकेका थिए।

विश्व फुटबलका महान् फरवार्डका रूपमा स्थापित रोनाल्डोको यो सक्रियता उनको समग्र विश्वकप करिअरकै सबैभन्दा कमजोर र सीमित प्रदर्शनमध्ये एक मानिएको छ।

खेलभर डिआर कंगोको रक्षापंक्तिले रोनाल्डोलाई कडा निगरानीमा राख्दै पूर्ण रूपमा निस्प्रभावी बनाएको थियो। खेल विश्लेषक संस्था ईएसपीएन एफसीका अनुसार ९० मिनेटको खेलमा रोनाल्डोले विपक्षी गोलपोष्टलाई लक्षित गरी तीन पटक प्रहार गरे पनि उनका कुनै पनि प्रहार ‘अन टार्गेट’ हुन सकेनन्।

मैदानमा उनको फिक्का उपस्थिति र सिमित सहभागिताका कारण पोर्चुगलको अग्रपंक्तिको धार नै भुत्ते देखिएको थियो। विपक्षी रक्षकहरूको रणनीतिक घेराबन्दीमा परेपछि रोनाल्डोले खेलमा आफ्नो स्वभाविक प्रभाव जमाउन सकेनन्।

खेलको सुरुआत भने पोर्चुगलका लागि सुखद रहेको थियो। खेल सुरु भएको छैटौँ मिनेटमा नै जोआओ नेभेसले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलमा बलियो पुनरागमन गरेको डिआर कंगोले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्कायो।

कङ्गोका स्ट्राइकर योआन विस्साले उत्कृष्ट गोल गर्दै खेललाई १-१ को रोमाञ्चक अवस्थामा पुर्‍याए। दोस्रो हाफमा पोर्चुगलले खेल आफ्नो पक्षमा पार्न केही कडा अवसरहरू सिर्जना गरे पनि कंगोको बलियो रक्षापंक्ति र फितलो फिनिसिङका कारण थप गोल हुन सकेन।

अन्ततः उपाधि दाबेदार मानिएको पोर्चुगलले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वीसँग अंक बाँड्दै प्रतियोगिताको सुरुआत गर्नुपरेको छ। यस खेलको नतिजासँगै रोनाल्डोका नाममा एउटा बिर्सनलाग्दो कीर्तिमान थपिएको छ, जहाँ उनी प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा लगातार १० खेलसम्म गोलविहीन बन्न पुगेका छन्।

अर्कोतर्फ, सन् १९७४ पछि पहिलो पटक विश्वकपको मञ्चमा फर्किएको डिआर कंगोका लागि भने बलियो पोर्चुगललाई बराबरीमा रोक्नु ऐतिहासिक जित सरह सावित भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *