नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताएका छन्।
मन्त्री खलालाई भेट्न आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको टोलीले नेपालमा उत्पादन भएको चिया भारत निर्यातमा देखिएको अवरोधलाई कुटनीतिक माध्यमबाट समाधान गर्नका लागि पहल गरिदिन उनलाई अनुरोध गरेको थियो। टोलीले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योगले भोग्नुपरेको समस्याबारे परराष्ट्रमन्त्री खनालको ध्यानाकर्षण गराएको थियो।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोधप्रति सरकार गम्भीर रहेको र यस विषयमा भारतीय पक्षसँग कूटनीतिक संवाद भइरहेको जानकारी दिए। “चियाको निर्यातमा देखिएका समस्या समाधानका लागि हामीले भारतीय अधिकारीसँग कुराकानी अगाडि बढाइसकेका छौँ”, उनले भने, “समस्याको निकास निकाल्न कूटनीतिक तहबाट ठोस पहल भइरहेको छ। भारतीय पक्षबाट प्राप्त जानकारीअनुसार यसको छिट्टै समाधान निस्किनेछ।”
परराष्ट्रमन्त्री खनालले चियालगायत अन्य वस्तुको निर्यातमा आउने यस्ता समस्याको दीर्घकालीन समाधानका लागि भारतीय पक्षसँग कुरा भइरहेको जानकारी दिए।
महासङ्घका अध्यक्ष श्रेष्ठले वार्षिक करिब रु १२ अर्बदेखि रु १४ अर्ब बराबरको कारोबार हुने चिया क्षेत्र सङ्कटमा पर्दा समग्र अर्थतन्त्र र लाखौँ व्यक्तिको जीविकोपार्जनमा असर पर्ने जानकारी गराउँदै सक्दो चाँडो समस्या समाधानका लागि मन्त्री खनालसमक्ष आग्रह गरे।
सांसदद्वय गणेश पराजुली र रहबर अन्सारीले चिया निर्यातमा देखिएको समस्या अल्पकालीन र दीर्घकालीन ढङ्गले समाधान खोज्नुपर्नेमा जोड दिए।







डिसी नेपाल







Facebook Comment