फिफा विश्वकप २०२६: क्यानडाको ऐतिहासिक सानदार जित, कतारमाथि ६-० को गोल वर्षा
काठमाडाैं। सहआयोजक क्यानडाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा कतारमाथि ६-० को ऐतिहासिक र फराकिलो जित दर्ता गरेको छ।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा घरेलु दर्शकमाझ भएको एकपक्षीय खेलमा क्यानडालाई सानदार जित दिलाउन स्टार स्ट्राइकर जोनाथन डेभिडले उत्कृष्ट ह्याट्रिक पूरा गरे । त्यस्तै साइले लारिन र नाथन सालिबाले एक-एक गोल थपे भने क्यानडाले कतारबाट एक गोल उपहारस्वरूप (आत्मघाती गोल) प्राप्त गर्यो ।
कतारका दुई खेलाडीले रातो कार्ड पाउँदा ९ खेलाडीमा समेटिएको कतारविरुद्ध क्यानडाले खेलको सुरुदेखि अन्तिमसम्म पूर्ण दबाब कायम राखेको थियो ।
खेलको १६औँ मिनेटमा साइले लारिनले आकर्षक गोल गर्दै घरेलु टोली क्यानडालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि २९औँ मिनेटमा जोनाथन डेभिडले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
खेलको ३३औँ मिनेटमा कतारका हमाम अहमदले सिधै रातो कार्ड पाउँदै मैदान छाड्नुपरेपछि कतार खेलको सुरुवाती आधा घण्टामै १० खेलाडीमा सीमित हुन पुग्यो । यसैको फाइदा उठाउँदै पहिलो हाफको इन्जुरी समयमा जोनाथनले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमै क्यानडा ३-० को बलियो स्थितिमा पुग्यो ।
दोस्रो हाफमा कतारको संकट झनै चुलियो । खेलको ५१औँ मिनेटमा कतारका असिम माडिबोले पनि रातो कार्ड पाएपछि कतार ९ खेलाडीमा मात्र सीमित रहन पुग्यो । दुई खेलाडी कम भएको कतारी टोलीविरुद्ध क्यानडाले आक्रामक खेललाई निरन्तरता दियो ।
६४औँ मिनेटमा नाथन सालिबाले गोल गर्दै टोलीलाई ४-० को स्थितिमा पुर्याए । खेलको ७५औँ मिनेटमा कतारका मोहम्मद मनाईले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि क्यानडाको अग्रता ५-० पुग्यो । दोस्रो हाफको इन्जुरी समयमा जोनाथन डेभिडले आफ्नो ह्याट्रिक पूरा गर्दै क्यानडालाई ६-० को ऐतिहासिक जित दिलाए । जारी विश्वकपमा यो नै पहिलो ह्याट्रिक समेत बन्न पुगेको छ ।
क्यानडाका लागि यो जित विश्वकप इतिहासमै ऐतिहासिक र विशेष बनेको छ । सन् १९८६ र २०२२ को विश्वकप खेलिसकेको क्यानडाले यसअघि विश्वकपको मञ्चमा कुनै पनि खेल जित्न सकेको थिएन । यो ऐतिहासिक पहिलो जितसँगै २ खेलबाट ४ अंक जोड्दै क्यानडा गोलअन्तरका आधारमा समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ ।
समान ४ अंक नै भएको स्विट्जरल्यान्ड गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ भने बोस्निया एन्ड हर्जगोभिना र कतारको समान एक–एक अंक मात्र रहेको छ । अब यस समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो अन्तिम चरणका खेलहरूबाट लाग्नेछ, जहाँ क्यानडाले आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ ।







डिसी नेपाल







Facebook Comment