काठमाडौं महानगरको आगामी आवको बजेट सार्वजनिक: बहाल करको दर हेरफेर

डिसी नेपाल
५ असार २०८३ ७:२५

काठमाडाैं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बहाल करको दरमा महत्त्वपूर्ण हेरफेर गरेको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बिहीबार बजेट प्रस्तुत गर्दै नयाँ व्यवस्थाबारे जानकारी दिएकी हुन्।

नयाँ नियमानुसार आवासीय प्रयोजनका लागि बहालमा लगाइएका घरजग्गाको वार्षिक आम्दानी दुई लाख ४० हजार रुपैयाँभन्दा कम भएमा पाँच प्रतिशत कर लाग्नेछ। सोभन्दा बढी आम्दानी हुनेको हकमा भने साविकको १० प्रतिशत करको दरलाई घटाएर सात प्रतिशत कायम गरिएको छ।

करदातालाई करको दायरामा आकर्षित गर्न महानगरले आगामी असोज मसान्तभित्र कर बुझाएमा १० प्रतिशत छुट दिने र सोही अवधिभित्र पुरानो बक्यौता चुक्ता गरेमा जरिवाना पूर्ण रूपमा मिनाहा गर्ने नीति ल्याएको छ। करप्रतिको अपनत्व बढाउन केही शीर्षकका सिफारिस दस्तुर निःशुल्क गरिएको छ भने करको दायरा फराकिलो बनाउन विज्ञ तथा वस्तुगत संघहरूसँग सहकार्य गरिने भएको छ।

महानगरपालिकाले आगामी वर्षदेखि नागरिकलाई घरघरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि सारेको छ। युवा केन्द्रित स्वरोजगार कार्यक्रम सञ्चालनका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ भने ‘जेनजी’ सहिद तथा अमर प्रहरीको नामावलीसहितको स्मारक निर्माणका लागि पनि बजेट व्यवस्था गरिएको छ।

स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिँदै महानगरले आफ्नै सुविधासम्पन्न महानगर अस्पताल निर्माण गर्ने घोषणा गरेको छ। बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेको यस अस्पतालका लागि पहिलो वर्ष चार करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यसबाहेक टोलटोलमा योगाभ्यास कार्यक्रम, ज्येष्ठ नागरिकका लागि निमोनिया खोप उपलब्ध गराउन एक करोड रुपैयाँ, क्यान्सरजस्ता असाध्य रोगको निदानका लागि विशेष बजेट र एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र स्थापनाका लागि दुई करोड रुपैयाँ छुट्याइएको छ । निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै स्वनिगः विश्वविद्यालय स्थापनाका लागि प्रारम्भिक कार्य गर्न ५० लाख तथा पोषणभत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

शिक्षा क्षेत्रतर्फ काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अन्तिम मनोनयन (र्यापअप) को अनलाइन आवेदन पुनः खुला गरेको छ ।

महानगरपालिकाका शिक्षा अधिकारी नमराज ढकालका अनुसार पहिलो र दोस्रो मनोनयन सूचीमा नाम नपरेका तर छात्रवृत्ति परीक्षामा सामेल भएका विद्यार्थीले रिक्त रहेका शिक्षण संस्था र विषयको प्राथमिकता क्रम छनोट गरी अनलाइन फाराम भर्न सक्नेछन् ।

महानगरले यस वर्ष कुल १४५ वटा शिक्षण संस्थामा चार हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरेको थियो । तीमध्ये पहिलो सूचीबाट तीन हजार ५१ जना र दोस्रो सूचीबाट २३० जना गरी कुल तीन हजार २८१ विद्यार्थी भर्ना भइसकेका छन् ।

अब बाँकी रहेका एक हजार ५७६ सिटका लागि विद्यार्थीले बिहीबार बिहान १० बजेदेखि आगामी असार ८ गते साँझ ५ बजेसम्म आवेदन दिन सक्नेछन् । यो अन्तिम मनोनयन प्रक्रिया विद्यार्थीको एकमुष्ट योग्यताक्रम (ओभरअल मेरिट) का आधारमा तय गरिने महानगरले स्पष्ट पारेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *