कोशीमा मनसुन सक्रिय भई भारी वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा तातो लहरको सास्ती

डिसी नेपाल
७ असार २०८३ ६:४३

काठमाडौं। नेपालको पूर्वी क्षेत्रमा मनसुनी वायु भित्रिएसँगै कोशी प्रदेशका केही स्थानमा यसको प्रभाव देखिन थालेको छ भने देशका अन्य भू-भागमा अझै पनि पश्चिमी तथा स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको छ । तराईका भू-भागमा भने अहिले आंशिक बदलीको अवस्था छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भाग र कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ। मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने भए पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहने देखिन्छ।

यसैगरी, दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। विशेष गरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भने भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।

पूर्वी क्षेत्रमा वर्षाको सम्भावना रहँदा पश्चिमी तराईमा भने गर्मीको प्रकोप यथावत छ। महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहर (लू) चल्ने सम्भावना औंल्याएको छ भने बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तापक्रम बढ्ने देखिएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कोशीको तराई क्षेत्रमा साधारणतया बदलीकै स्थिति रहनेछ। मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने रातिको समयमा मौसम मुख्यतया सफा रहनेछ।

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना कायम रहनेछ। साथै, कोशी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ भने कोशीकै पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

देशका विभिन्न भागमा भारी वर्षा, चट्याङ तथा तातो लहरको फरक-फरक जोखिम रहेकाले महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचनामा सजग रहन आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *