इरानद्वारा रणनीतिक ‘होर्मुज जलमार्ग’ बन्दको घोषणा: ट्रम्प-पेजेस्कियान समझदारी संकटमा

डिसी नेपाल
७ असार २०८३ ७:२९

तेहरान। मध्यपूर्वमा बढ्दै गएको सैन्य तनावका बीच इरानले विश्वकै सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण तेल ढुवानी मार्ग मानिने रणनीतिक ‘होर्मुज जलडमरूमध्य’ लाई पुनः जहाज आवतजावतका लागि पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ।

लेबनानमा इजरायली सेनाले जारी राखेको लगातारको हवाई तथा स्थलगत सैन्य आक्रमणलाई मुख्य कारण देखाउँदै इरानको संयुक्त सैन्य कमाण्ड ‘खाताम अल-अन्बिया’ ले शनिबार सरकारी टेलिभिजनमार्फत यो कठोर कदमको घोषणा गरेको हो।

इरानको यस अप्रत्याशित निर्णयले अमेरिका र इरानबीच हालै मात्र युद्ध अन्त्य र क्षेत्रीय स्थिरताका लागि भएको ऐतिहासिक प्रारम्भिक समझदारीलाई कार्यान्वयनको चरणमा प्रवेश गर्न नपाउँदै ठुलो संकटमा धकेलिदिएको छ।

इरानी अधिकारीहरूका अनुसार हालै जुन १५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसउद पेजेस्कियानबीच हस्ताक्षर भएको १४ बुँदे प्रारम्भिक समझदारीको मुख्य सर्त नै लेबनानसहित यस क्षेत्रका सबै मोर्चामा तत्काल सैन्य गतिविधि रोक्नु र लेबनानको सार्वभौमसत्ताको रक्षा गर्नु थियो।

तर, वासिङ्टन आफ्नो साझेदार इजरायललाई प्रतिबद्धता कार्यान्वयन गराउन पूर्ण रूपमा असफल भएको र इजरायलले दक्षिणी लेबनानमा युद्धविरामको ठाडो उल्लङ्घन गर्दै भीषण आक्रमण जारी राखेकाले सम्झौता विपरीत ‘विश्वासघात’ भएको तेहरानको ठहर छ।

इरानी सैन्य कमाण्डले होर्मुज जलमार्ग बन्द गर्नु अमेरिका र इजरायलको बलमिच्याइँ विरुद्धको प्रारम्भिक चेतावनी मात्र भएको उल्लेख गर्दै आक्रमण तत्काल नरोकिए थप घातक कदमहरू चालिने चेतावनीसमेत दिएको छ।

पछिल्लो समय अमेरिका, पाकिस्तान र कतार लगायतका अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूको अथक पहलमा इजरायल र इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको प्रयास गरिए पनि त्यो केही घण्टामै भंग हुन पुगेको थियो।

इजरायली सेनाले ड्रोन र अत्याधुनिक तोपखाना प्रयोग गरी दक्षिणी लेबनानको कानारित लगायतका क्षेत्रमा लगातार गरिरहेको आक्रमणमा परि हालसम्म १६ जना भन्दा बढीको ज्यान गइसकेको छ भने सो क्षेत्रमा कुल मृतकको संख्या ४ हजार नाघेको छ।

यता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो देशको सुरक्षा र अस्तित्वमा कुनै सम्झौता नगर्ने अडान दोहोर्‍याउँदै गाजा र लेबनानमा इजरायलका सैन्य अभियानहरू जारी रहने र दक्षिणी लेबनानको कब्जा गरिएको क्षेत्रबाट आफ्ना सेना फिर्ता नहुने स्पष्ट पारेका छन्, जसले कूटनीतिक निकासलाई थप जटिल बनाएको छ।

होर्मुज जलमार्ग बन्द गर्ने इरानको यो घोषणा यस्तो संवेदनशील समयमा आएको छ, जब आइतबारदेखि स्विट्जरल्याण्डमा अमेरिका र इरानबीच अन्तरिम सम्झौतालाई विस्तृत र स्थायी शान्ति सम्झौतामा बदल्न प्राविधिक तहको उच्चस्तरीय वार्ता सुरु हुँदैछ।

अमेरिकी टोलीको नेतृत्व गर्दै जारेड कुश्नर र स्टिभ विटकफ वार्ताका लागि स्विट्जरल्याण्ड पुगिसकेका छन् भने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि केही दिनमै सो वार्तामा जोडिने बताएका छन्।

तर इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाहीले लेबनानमा जारी रक्तपातपूर्ण युद्ध नरोकिएसम्म वार्तामा कुनै ठोस प्रगति हुन नसकने संकेत गर्नुभएको छ। हिजबुल्लाहले पनि इजरायलले पूर्ण रूपमा युद्धविराम र सेना फिर्ताको घोषणा नगरेसम्म जलमार्ग खुला नगर्न इरानलाई दबाब दिइरहेको बुझिएको छ।

यस घोषणाप्रति कडा आक्रोश व्यक्त गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि आगामी ६० दिनभित्र इरानसँग अन्तिम आणविक तथा शान्ति सम्झौता हुन नसकेमा अमेरिकाले होर्मुज जलमार्गमा आफ्नै ढङ्गले ‘टोल ट्याक्स’ (महसुल) उठाउने अनौठो चेतावनी दिएका छन्।

ट्रम्पले सामाजिक सञ्जालमा उक्त महसुल मध्यपूर्वी देशहरूको सुरक्षाका लागि अमेरिकाले निर्वाह गरेको ‘गार्डियन एन्जल’ (अभिभावक) को भूमिकाबापत न्यायोचित हुने जिकिर गरेका छन्।

यद्यपि, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले भने शनिबार मात्रै ५५ वटा व्यापारिक जहाजहरू १७ मिलियन ब्यारेल तेल बोकेर उक्त जलमार्ग हुँदै सुरक्षित रूपमा बाहिरिएको र हालसम्म त्यहाँ जलमार्ग पूर्ण ठप्प भएको सैन्य गतिविधि नदेखिएको दाबी गरेको छ।

विश्वको कुल तेल र तरल प्राकृतिक ग्यास आपूर्तिको झन्डै २० प्रतिशत हिस्सा यही साँघुरो जलमार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले यसको बन्दले विश्व अर्थतन्त्र र ऊर्जा बजारमा तेलको मूल्य आकाशिने र ऐतिहासिक वित्तीय संकट निम्तिने भयले अन्तर्राष्ट्रिय समुदाय यतिबेला निकै चिन्तित बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *