आरोग्य पर्यटनको विश्व मानचित्रमा नेपाल : संभावित गन्तव्यहरू

मनिषा बस्नेत
७ असार २०८३ ९:४०

काठमाडौं। नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न सरकारले आफ्नो नीति तथा कार्यक्रममा विशेष प्राथमिकता दिएको छ।

नेपालसँग आध्यात्मिकता, योग, ध्यान, प्राकृतिक उपचार र आरोग्य जीवनशैलीको अनुपम सम्भावना छ। योग, ध्यान मार्फत मानसिक स्वास्थ्यको लागि विदेशी पर्यटनहरुको प्रमुख गन्तव्य बन्न सक्छन।

संसार अहिले तनाव, मानसिक अशान्ति र अस्वस्थ जीवनशैलीसँग जुधिरहेको छ। आर्थिक समृद्धि र प्रविधिको तीव्र विकाससँगै मानिसहरूको जीवन सहज बनेको छ, तर मानसिक स्वास्थ्य र आत्मिक शान्ति भने झन् चुनौतीपूर्ण बन्दै गएको छ। यही कारणले विश्वभर पर्यटनको नयाँ प्रवृत्ति विकसित भएको छ—आरोग्य पर्यटन (वेलनेस टुरिजम)।

नेपाल आरोग्य पर्यटनका लागि विश्वकै उत्कृष्ट गन्तव्यहरूमध्ये एक हो। यहाँको भौगोलिक विविधता, समृद्ध आध्यात्मिक सम्पदा र योग–ध्यानको परम्पराले यसलाई वेलनेस हबको रूपमा स्थापित गर्ने बलियो आधार प्रदान गरेको छ।

जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले दशकअघि नै आरोग्य पर्यटनको अवधारणा अघि सारेको बताउँदै आएका छन्। उनका अनुसार, भौतिक सुख, स्वस्थ शरीर र दिगो खुसीको समिश्रण नै आरोग्य हो। उक्त अवधारणाले नेपालको अनुपम प्राकृतिक, भौगोलिक तथा सांस्कृतिक विविधतालाई योग, ध्यान र आयुर्वेदसँग जोडेर देशलाई विश्वकै उत्कृष्ट आरोग्य गन्तव्य बनाउने लक्ष्य राखेको छ।

पहिले पर्यटनको मुख्य उद्देश्य मनोरञ्जन र घुमफिर थियो, अहिले पर्यटकहरू स्वास्थ्य, मानसिक शान्ति, आत्मिक ऊर्जा र जीवनशैली सुधारका लागि यात्रा गर्न थालेका छन्। योग, ध्यान, आयुर्वेद, प्राकृतिक उपचार, आध्यात्मिक साधना र प्रकृतिसँगको सामीप्य अहिले विश्वभरका यात्रुहरूको प्राथमिकतामा परेको छ।

विश्वव्यापी रूपमा वेलनेस पर्यटन उद्योग एक ट्रिलियन डलरभन्दा बढीको अर्थतन्त्रमा रूपान्तरण भइसकेको छ। यस क्षेत्रमा भारत, थाइल्याण्ड, इन्डोनेसिया, चीन र श्रीलंकाजस्ता मुलुकले ठूलो लगानी गरिरहेका छन्। तर हिमालयको काख, भगवान बुद्धको जन्मभूमि, प्राचीन योग–ध्यान परम्परा र प्राकृतिक विविधताका कारण नेपालसँग यो क्षेत्रमा अझै ठूलो सम्भावना रहेको छ।

विश्व किन फर्किँदैछ योग र ध्यानतर्फ ?

कोभिड महामारीपछि मानिसहरूको स्वास्थ्यप्रतिको चेतना झनै बढेको छ। अहिले संसारभर मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, डिजिटल डिटक्स, माइन्डफुलनेस(पूर्ण ध्यान) र दीर्घायु सम्बन्धी गतिविधिहरू लोकप्रिय बन्दै गएका छन्।

वेलनेस उद्योगका पछिल्ला अध्ययनले अहिलेका पर्यटकहरू केवल विलासितापूर्ण होटल खोजिरहेका छैनन्। उनीहरू प्रकृतिको बीचमा बसेर ध्यान गर्न, मोबाइल र सामाजिक सञ्जालबाट केही समय टाढा रहन, योग अभ्यास गर्न र मानसिक रूपमा पुनःऊर्जाशील बन्न चाहेको देखाउँछन्।

विशेषगरी अमेरिका, युरोप, जापान, दक्षिण कोरिया र अष्ट्रेलियाका पर्यटकहरूमा यस्तो प्रवृत्ति तीव्र रूपमा बढेको छ। यही कारणले अहिले विश्वका धेरै लक्जरी रिसोर्टहरूले योग, ध्यान, सास–प्रश्वास अभ्यास, निद्रा व्यवस्थापन तथा मानसिक स्वास्थ्य कार्यक्रमलाई आफ्नो मुख्य उत्पादन बनाएका छन्।

ध्यानको भूमि नेपाल

नेपाल हिमाल, प्रकृति र संस्कृतिको देश मात्र होइन, ध्यान र आध्यात्मिक चेतनाको भूमि पनि हो। विश्व शान्तिका प्रतीक भगवान बुद्धको जन्म यही भूमिमा भएको थियो। हजारौं वर्षदेखि हिमालका गुफा, मठ, आश्रम र वन क्षेत्रमा ऋषिमुनि तथा साधकहरूले ध्यान र तपस्याको अभ्यास गर्दै आएका छन्।

योग र ध्यानका लागि आवश्यक शान्त वातावरण, स्वच्छ हावा, प्राकृतिक ऊर्जा र आध्यात्मिक अनुभूति नेपालका धेरै क्षेत्रमा सहजै प्राप्त गर्न सकिन्छ। यही कारणले नेपाललाई विश्वकै उत्कृष्ट ध्यान गन्तव्यका रूपमा विकास गर्न सकिने आधार बलियो देखिन्छ।

योगाचार्य राजन शर्माका अनुसार नेपाललाई योग र ध्यान केन्द्रित आरोग्य पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ। ‘अध्यात्म हाम्रो भूमिको पहिचान हो। योग, ध्यान, अर्गानिक जीवनशैली र नेपाली संस्कारलाई पर्यटनसँग जोडेर संसारलाई नेपाल फरक र विशिष्ट गन्तव्य हो भन्ने सन्देश दिन सकिन्छ,’ उनको भनाइ छ।

नेपालका प्रमुख योग–ध्यान गन्तव्य

लुम्बिनीः शान्ति र ध्यानको उद्गम स्थल ः आरोग्य पर्यटनको कुरा गर्दा सबैभन्दा पहिले लुम्बिनीको नाम आउँछ। भगवान बुद्धको जन्मस्थल भएकाले लुम्बिनी विश्वकै महत्वपूर्ण आध्यात्मिक केन्द्र हो।

यहाँ विश्वका विभिन्न देशले निर्माण गरेका बौद्ध विहार, ध्यान केन्द्र र मेडिटेसन क्याम्पहरूले हजारौं विदेशी साधकलाई आकर्षित गरिरहेका छन्। माइन्डफुलनेस, विपश्यना र बौद्ध दर्शन अध्ययनका लागि लुम्बिनीलाई विश्वस्तरीय केन्द्र मानिन्छ।

फर्पिङ ः साधनाको शान्त भूमि ः काठमाडौं उपत्यकाको दक्षिणी क्षेत्रमा रहेको फर्पिङ लामो समयदेखि ध्यान र साधनाको केन्द्रका रूपमा परिचित छ। यहाँका गुम्बा, ध्यान केन्द्र र गुरु पद्मसम्भवसँग सम्बन्धित धार्मिक स्थलहरू विदेशी साधकहरूको आकर्षणको केन्द्र बनेका छन्।

नमोबुद्ध : शान्ति र करुणाको प्रतीक ः काभ्रेको नमोबुद्ध बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण तीर्थस्थल हो। हरियाली वातावरण, पहाडी दृश्य र आध्यात्मिक वातावरणले यसलाई ध्यानका लागि उत्कृष्ट स्थान बनाएको छ।

पोखरा ः प्रकृति र ध्यानको संगम

पोखरा अहिले नेपालकै प्रमुख वेलनेस गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। फेवातालको किनार, हिमालको दृश्य र शान्त वातावरणले यहाँ योग र ध्यान अभ्यासलाई विशेष अनुभव बनाउँछ।

फेवाताल र अन्नपूर्ण हिमश्रृंखलाको काखमा रहेको पोखराले पर्यटकलाई शारीरिक र मानसिक स्फूर्ति प्रदान गर्छ। लेकसाइड क्षेत्रमा योग रिट्रिटहरू, आयुर्वेद मसाज र साउन्ड हेलिङ सेन्टरहरू छन्। धेरै विदेशीहरू ट्रेकिङअघि वा पछि केही दिन योग र ध्यान रिट्रिटमा सहभागी हुने गरेका छन्।

खप्तड : प्राकृतिक ध्यान केन्द्र ः खप्तड राष्ट्रिय निकुञ्ज सुदूरपश्चिमको अनुपम गन्तव्य हो। विशाल घाँसे मैदान, स्वच्छ वातावरण र आध्यात्मिक महत्तवका कारण खप्तडलाई प्राकृतिक ध्यान केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना छ।

हिमाली पदमार्ग ः एभरेष्ट वेस क्याम्प, अन्नपूर्ण सर्किट लगायतका पदमार्गहरूलाई पनि अहिले वेलनेस यात्राको रूपमा व्याख्या गर्न थालिएको छ। प्रकृतिसँग नजिक हुने, शरीरलाई सक्रिय बनाउने र मानसिक शान्ति प्राप्त गर्ने अवसर भएकाले ट्रेकिङ आफैंमा वेलनेस गतिविधि मानिन्छ।

काठमाडौं उपत्यकाः सांस्कृतिक र आध्यात्मिक केन्द्र ः काठमाडौं केवल प्रशासनिक राजधानी मात्र नभई प्राचीन परम्परा र आधुनिक आरोग्य सेवाको संगम हो।

यहाँ रहेको ओशो तपोवन नागार्जुनको जंगलमा अवस्थित ध्यान केन्द्र र आध्यात्मिक खोजीका लागि विश्वप्रसिद्ध छ। कपन गुम्बा बौद्ध दर्शन र ध्यानका लागि यो स्थान निकै शान्त र चित्ताकर्षक छ। बुढानीलकण्ठमा अवस्थित विपश्यना ध्यान केन्द्र (धम्मशृङ्ग) १० दिने मौन ध्यान शिविरका लागि परिचित छ।

नगरकोट र धुलिखेलः प्राकृतिक शान्तिको गन्तव्य ः काठमाडौंबाट नजिकै रहेका यी पहाडी स्टेसनहरू ‘डिजिटल डिटक्स’ र हिमालयको दृश्यसहितको योग अभ्यासका लागि उपयुक्त छन्। यहाँका धेरै इको–रिसोर्टहरूले वन स्नान र योग रिट्रिटहरू सञ्चालन गर्छन्।

योग, ध्यान र स्थानीय जीवनशैली

नेपालको आरोग्य पर्यटनको सबैभन्दा ठूलो विशेषता यसको मौलिकता हो। हिमाली जडीबुटी, जैविक खाद्य संस्कृति, गाउँको जीवनशैली, होमस्टे, आयुर्वेद, प्राकृतिक चिकित्सा, स्थानीय परम्परा र धार्मिक संस्कारले योग तथा ध्यानलाई अझ प्रभावकारी बनाउँछन्।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार आधुनिक मानिसले खोजिरहेको ‘स्लो लाइफ’ अर्थात् सरल र शान्त जीवनशैली नेपालका ग्रामीण क्षेत्रमा अझै पनि जीवित छ। यही जीवनशैलीलाई पर्यटनसँग जोड्न सके नेपालले नयाँ बजार सिर्जना गर्न सक्छ।

विश्व बजारमा नेपालको अवसर

भारतले योगलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाइसकेको छ। संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने निर्णय गरेपछि यसको लोकप्रियता झन् बढेको छ।

ग्लोबल वेलनेस इन्स्टिच्युट र ग्लोबल वेलनेस समिट २०२६ रिपोर्ट अनुसार थाइल्याण्डले समग्र स्वास्थ्य पर्यटनमा ठूलो लगानी गरिरहेको छ। चीनले थर्मल स्पा र प्राकृतिक उपचारलाई प्राथमिकता दिएको छ। युरोप र अमेरिकाका धेरै होटल तथा रिसोर्टहरूले मानसिक स्वास्थ्य केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेका छन्।

यस्तो अवस्थामा नेपालले आफ्नो मौलिक पहिचानलाई बलियो बनाउन सके प्रतिस्पर्धामा अगाडि आउन सक्छ। नेपालसँग हिमालय छ, बुद्धको भूमि छ। ध्यान र साधनाको हजारौं वर्ष पुरानो इतिहास छ। प्राकृतिक जडीबुटी, जैविक जीवनशैली र आध्यात्मिक संस्कृति छ। यी सबै कुरा विश्व बजारमा अलग्गै पहिचान बनाउने आधार हुन्।

अब के गर्नुपर्छ ?

नेपालले योग र ध्यान पर्यटनलाई व्यवस्थित उद्योगका रूपमा विकास गर्न आवश्यक छ। ध्यान केन्द्रहरूको स्तरीकरण, अन्तर्राष्ट्रिय मापदण्डअनुसारका योग रिट्रिट, प्रशिक्षित प्रशिक्षक, गुणस्तरीय सेवा, अन्तर्राष्ट्रिय प्रचार तथा डिजिटल मार्केटिङमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार आगामी १० वर्षमा नेपाललाई वेलनेस डेस्टिनेसनका रूपमा स्थापित गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाउने योजना पनि छ।

‘नेपाल आउने धेरै पर्यटक प्रकृतिको नजिक हुन, मानसिक शान्ति प्राप्त गर्न र फरक जीवन अनुभव लिन आउँछन्। ट्रेकिङ, होमस्टे, ध्यान, योग र अध्यात्मलाई एउटै प्याकेजमा जोड्न सकियो भने नेपाल विश्वकै प्रमुख वेलनेस गन्तव्य बन्न सक्छ,’ उनले भने।

संसार अहिले मानसिक शान्तिको खोजीमा छ। मानिसहरू प्रविधि र व्यस्त जीवनशैलीबाट केही समय टाढा गएर आफूलाई पुनःचिन्न चाहन्छन्। योग, ध्यान र प्रकृतिसँगको सम्बन्ध त्यसको प्रभावकारी माध्यम बनेको छ।

नेपालसँग संसारले खोजिरहेको हिमालयको शान्ति, बुद्धको सन्देश, योगको अभ्यास, ध्यानको अनुभूति र प्रकृतिको अनुपम ऊर्जा छ। त्यसैले नेपाल आरोग्य पर्यटनको अब्बल गन्तब्य बन्ने संभावना छ।

सरकारले ‘आरोग्य पर्यटन रणनीति’ मार्फत राष्ट्रिय स्तरमै यसलाई प्राथमिकता दिएकाले व्यावसायिक रूपमा ठूला पूर्वाधार र एकीकृत आरोग्य केन्द्रहरूको विकास गर्ने राम्रो अवसर छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *