झापामा लागुऔषधको भयावह अवस्था: २० हजार बढी सक्रिय प्रयोगकर्ता, नियन्त्रणका लागि प्रहरीको विशेष अभियान
झापा। पूर्वी जिल्ला झापामा पछिल्लो समय लागुऔषध सेवन र यसको अवैध कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या तीव्र रूपमा बढेर गएको छ, जसले गर्दा यो समस्या अहिले जटिल सामाजिक चुनौतीका रूपमा देखा परेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख वसुन्धरा खड्काका अनुसार हाल जिल्लामा मात्रै लागुऔषधका सक्रिय प्रयोगकर्ता र ओसारपसारमा संलग्नहरूको सङ्ख्या २० हजारभन्दा बढी पुगिसकेको छ। यसैगरी, लागुऔषधकै कसुरमा झापाका विभिन्न हिरासत र कारागारमा ९०० भन्दा बढी व्यक्तिहरू थुनामा रहेका छन्।
यस अन्तर्गत झापा कारागारमा ३७६ जना कैदी, पुर्पक्षका लागि थुनामा रहेका ३४० जना र अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका २०८ जनाले कानुनी कारबाही भोगिरहेका छन्।
दुर्व्यसनको चपेटामा परेकाहरूमध्ये १ हजार २६२ जना जिल्लाका ४२ वटा सुधार केन्द्रमा र १३३ जना प्रादेशिक अस्पताल भद्रपुरमा नियमित उपचार गराइरहेका छन्।
वार्षिक रूपमा सार्वजनिक हुने तथ्याङ्कले झापामा लागुऔषध सम्बन्धी अपराध वर्षैपिच्छे बढ्दै गएको पुष्टि गर्छ। आर्थिक वर्ष २०७८/०७९ मा २०० जना पक्राउ परेकोमा यो सङ्ख्या लगातार बढ्दै आव २०८१/०८२ मा ३४५ पुगेको थियो भने चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ महिनासम्ममा मात्रै ३५२ जना पक्राउ परिसकेका छन्।
भौगोलिक रूपमा भारतको सीमासँग जोडिएको मेचीनगर नगरपालिका यसबाट सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ। चालु आर्थिक वर्षको ११ महिनामा मेचीनगरको सीमावर्ती क्षेत्रबाट लागुऔषधसहित ९२ जना पक्राउ परेका छन् भने भद्रपुरबाट ७७, बिर्तामोडबाट ४५, दमकबाट ३२ र अर्जुनधाराबाट १६ जना पक्राउ परेका छन्।
यसैगरी गौरीगंज, कमल, गौरादह, बुद्धशान्ति, कचनकवल र हल्दिवारी क्षेत्रबाट पनि उल्लेख्य सङ्ख्यामा अभियुक्तहरू पक्राउ परेका छन्।
लागुऔषध दुर्व्यसनकै कारण समाजमा चोरी, डकैती, घरेलु हिंसा, आत्महत्या, सडक दुर्घटना, मानसिक रोग र पारिवारिक विखण्डन जस्ता गम्भीर संकटहरू निम्तिएको प्रहरी उपरीक्षक खड्काको भनाइ छ।
यसै भयावह स्थितिलाई मध्यनजर गर्दै झापा प्रहरीले स्थानीय तह र समुदायसँगको सहकार्यमा एक विशेष नियन्त्रण अभियान सुरु गरेको छ। लागुऔषधको आयात र क्षति न्यूनीकरण गर्ने लक्ष्य राखिएको यस अभियानको पहिलो चरण अन्तर्गत हाल विद्यालयहरूमा सचेतनामूलक कार्यक्रमहरू भइरहेका छन्।
दोस्रो चरणमा १५० भन्दा बढी शिक्षकहरूलाई विशेष तालिम दिएर विद्यालय स्तरमै सचेतना कक्षा सञ्चालन गरिनेछ भने तेस्रो चरणमा प्रहरी र स्थानीय युवाहरूबीच मैत्रीपूर्ण खेलकुद आयोजना गरिनेछ।
अभियानको अन्तिम तथा चौथो चरणमा जिल्लाका ७१ वटा प्रहरी एकाइमार्फत समुदाय स्तरमै लागुऔषध नियन्त्रण क्लब गठन गरेर यस सामाजिक विकृति विरुद्ध चौतर्फी रूपमा काम अघि बढाइने प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment