मनसुन थप चार प्रदेशमा विस्तार, अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण

डिसी नेपाल
८ असार २०८३ १८:२६

काठमाडौं । नेपालमा यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ। औसत समयभन्दा छ दिन ढिलो गरी गत शुक्रबार कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन आजसम्म आइपुग्दा थप चार प्रदेशमा फैलिएको हो।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म विस्तार भइसकेको छ। सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस वर्ष छ दिन ढिलो गरी प्रवेश गरेको हो।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार मनसुनी प्रणाली हाल कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा पूर्ण रूपमा विस्तार हुन अझै केही दिन लाग्ने देखिएको छ। हाल मनसुनको प्रभाव विस्तार भएसँगै विशेषगरी पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानमा वर्षा हुने क्रम सुरु भएको छ।

महाशाखाले प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाउँदै सर्वसाधारणलाई मौसमसम्बन्धी अद्यावधिक जानकारी र आगामी तीन दिनको पूर्वानुमान बुलेटिन नियमित रूपमा हेर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यसैबीच, विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। विभागका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार यस वर्ष तापक्रम बढ्ने सम्भावना समेत रहेको छ।

विभागको प्रक्षेपणअनुसार विशेष गरी कर्णाली प्रदेशका दक्षिणी भू-भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भू-भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *